चिया पसलबाट ७२ वर्ष पुरानो संस्थाको नेतृत्वसम्म : शोभा गौतमको संघर्षको जित

पोखरा — २६ वर्षअघि पोखरा उद्योग वाणिज्य संघको कार्यालय अगाडि एउटा सानो चिया पसल चलाउँदै गर्दा शोभा गौतमले सायद कल्पना पनि गरेकी थिइनन्—एक दिन यही संस्थाको नेतृत्व आफूले सम्हाल्नेछु भनेर।
त्यो समय उनी व्यवसायको सुरुवाती खुड्किलोमा थिइन्। हातमा ठूलो लगानी थिएन, स्थापित व्यावसायिक पहिचान थिएन। थियो त केवल केही गर्ने हुटहुटी र आफ्नै खुट्टामा उभिने अठोट।
आज त्यही अठोटले उनलाई पोखरा उद्योग वाणिज्य संघको ७२ वर्ष लामो इतिहासमा पहिलो महिला अध्यक्ष बनाएको छ।

संघको ३६औँ अधिवेशनबाट गौतम अध्यक्षमा निर्वाचित भएसँगै एउटा महिलाको व्यक्तिगत सफलतामात्र होइन, पोखराका हजारौँ महिला उद्यमीको संघर्षले संस्थागत नेतृत्वको ढोका खोलेको छ। उनले अध्यक्ष पदका तीन पुरुष प्रतिस्पर्धी अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पछि पार्दै ऐतिहासिक जित निकालेकी हुन्।
यो जितलाई गौतमले आफ्नै जितका रूपमा मात्र हेरेकी छैनन्।
‘मेरो परिचय केवल एउटा उम्मेदवारका रूपमा मात्र नभई हजारौं संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाज हो,’ उनले भनेकी छन्।
व्यावसायिक यात्राको पहिलो अध्याय चिया पसलबाट सुरु गरेकी गौतमले व्यवसायलाई किताबबाट भन्दा जीवनबाट सिकिन्।
उद्योग वाणिज्य संघकै कार्यालय अगाडि चिया पसल चलाउँदा उनले व्यवसायीका समस्या, ग्राहकको व्यवहार, बजारको उतारचढाव र व्यापारको मनोविज्ञानलाई नजिकबाट नियालिन्। त्यो सानो पसल उनका लागि केवल आम्दानीको माध्यम थिएन, व्यवसाय सिक्ने पहिलो पाठशाला थियो।
समयसँगै उनको यात्रा अगाडि बढ्यो। महेन्द्रपुलमा ‘पुष्पाञ्जली ब्युटी पार्लर’ सुरु गरिन्। त्यसबेला पार्लर व्यवसायप्रति समाजको दृष्टिकोण आजजस्तो सहज थिएन। तर सामाजिक धारणालाई चुनौती दिँदै उनले आफ्नो व्यवसायलाई स्थापित गरिन्।
सानो चिया पसलबाट सुरु भएको यात्रा विस्तार हुँदै आज लुब्रिकेन्ट, फेसन, इभेन्ट, रेस्टुरेन्ट, कृषि र ग्रोसरीलगायत विभिन्न क्षेत्रमा पुगेको छ। उनी अहिले सुप्रिम सप्लायर्समार्फत विविध व्यवसायमा सक्रिय छिन्।
महिला भएर व्यवसाय गर्नु आफैंमा चुनौतीपूर्ण रहेको समय गौतमले त्यो चुनौतीलाई अवसरमा बदलिन्।
व्यवसायसँगै उनले सामाजिक र संस्थागत क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गरिन्। विसं २०७३ मा पोखरा उद्योग वाणिज्य संघको साधारण सदस्यका रूपमा प्रवेश गरेकी उनी कार्यसमिति सदस्य, उपमहासचिव हुँदै महासचिवको जिम्मेवारीसम्म पुगिन्।
तत्कालीन अध्यक्ष पवनकुमार प्रजापतिको प्रेरणाबाट संघमा प्रवेश गरेकी उनले क्रमशः आफ्नो क्षमता र नेतृत्वदक्षता प्रमाणित गरिन्।
संघभित्र जिम्मेवारी बढ्दै जाँदा उनको भूमिका पनि फराकिलो हुँदै गयो। व्यवसायीका समस्या बुझ्ने, कार्यक्रम समन्वय गर्ने, नीति तथा योजनामा काम गर्ने र संस्थागत जिम्मेवारी पूरा गर्ने क्रममा उनले आफूलाई नेतृत्वका लागि तयार पार्दै गइन्।
यसअघि विन्दु कोइराला र हीरा भट्टराईले संघको अध्यक्ष बन्न प्रयास गरे पनि सफलता पाउन सकेका थिएनन्। त्यस अर्थमा गौतमको विजय केवल निर्वाचनको परिणाम होइन, महिलाको नेतृत्व स्वीकार गर्न समाज र व्यावसायिक क्षेत्र क्रमशः तयार हुँदै गएको संकेतसमेत हो।
गौतमको नेतृत्व यात्रामा व्यवसाय मात्र छैन, सामाजिक सेवाको पाटो पनि उत्तिकै बलियो छ।
मानव सेवा आश्रम, लायन्स क्लब तथा विभिन्न सामाजिक संस्थामा सक्रिय रहेकी उनी पदलाई अधिकारको रूपमा भन्दा सेवाको अवसरका रूपमा बुझ्ने नेतृत्वका रूपमा परिचित छिन्।
सायद यही कारण हुन सक्छ—उनको व्यावसायिक पहिचानसँगै सामाजिक सक्रियता र संस्थागत अनुभव पनि बलियो बन्दै गयो।अब भने उनको अगाडि चुनौती पनि त्यत्तिकै ठूलो छ।
७२ वर्ष लामो इतिहास बोकेको संस्थाको पहिलो महिला अध्यक्षका रूपमा उनले आफूलाई मात्र होइन, आफूभन्दा पछाडि रहेका धेरै महिला उद्यमीको सम्भावनालाई पनि प्रतिनिधित्व गर्नुपर्नेछ।
अध्यक्षका रूपमा गौतमले ‘सुदृढ संघ, सक्षम नेतृत्व’ नारासहित १४ बुँदे प्रतिबद्धता अघि सारेकी छन्।
संघलाई सबै उद्योगी–व्यवसायीको साझा घरका रूपमा स्थापित गर्ने उनको लक्ष्य छ। कृषि तथा पर्यटन प्रवर्धन, युवा उद्यमशीलताको विकास र महिला उद्यमीको सशक्तीकरण उनका प्राथमिकतामा छन्।
त्यसैगरी वित्तीय साक्षरता, सीप विकास, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि पहल, न्यु रोडको पार्किङ समस्या समाधान तथा ‘मेड इन पोखरा’ अभियान विस्तार गर्ने योजना उनले अघि सारेकी छन्।
स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र व्यवसायीमैत्री नीति निर्माणका लागि राज्यसँग पैरवी गर्ने उनको प्रतिबद्धता छ।
विगतमा जिआईजेडको वित्तीय साक्षरता कार्यक्रम तथा छेन्दु–पोखरा उडान समन्वयमा भूमिका निर्वाह गरिसकेकी गौतम अब आफ्ना प्रतिबद्धतालाई व्यवहारमा उतार्ने चुनौतीमा छिन्।
शोभा गौतमको कथा चिया पसलबाट अध्यक्षको कुर्सीसम्म पुगेको व्यक्तिगत सफलताको कथा मात्र होइन।यो अवसर सीमित हुँदा पनि बाटो आफैं बनाउने महिलाको कथा हो।
व्यवसाय सुरु गर्दा सामाजिक चुनौती सामना गरिन्। विस्तार गर्दा प्रतिस्पर्धा सामना गरिन्। संस्थामा प्रवेश गर्दा आफ्नो क्षमता प्रमाणित गर्नुपर्यो। र अध्यक्षको निर्वाचनमा तीन पुरुष प्रतिस्पर्धीलाई पछि पार्दै उनले अन्ततः इतिहास बदलिन्।अब उनको नेतृत्वको वास्तविक परीक्षा सुरु भएको छ।
तर उनको विगतले एउटा कुरा स्पष्ट गर्छ—सानो सुरुवातलाई कमजोर नठान्ने हो भने संघर्षकै बाटोबाट नेतृत्व जन्मिन सक्छ।
चिया बेच्ने हातले व्यवसाय सिक्यो, व्यवसायले नेतृत्व सिकायो र नेतृत्वले अन्ततः ७२ वर्ष पुरानो संस्थाको ढोका महिलाका लागि अझ फराकिलो बनाइदियो। ‘तपाईंहरूको विश्वास मेरो जिम्मेवारी हो,’ गौतमले भनेकी छन्।अब त्यो विश्वासलाई परिणाममा बदल्नु नै उनको सबैभन्दा ठूलो चुनौती हो।







