0Shares

ललितपुर। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्दैछ। विगतको भन्दा फरक शैलीमा आयोजना हुने शपथ ग्रहण समारोहमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराउनुका साथै प्रमाणपत्र वितरण र पदबहालीसमेत गरिने भएको छ।

ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आज दिउँसो २ बजे हुने विशेष समारोहमा सभापतिबाहेक अन्य सबै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन्।

नवनिर्वाचित सभापति गगनकुमार थापाले दसैँको फूलपातीका दिन असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। त्यसैले आजको समारोहमा सभापतिबाहेकका निर्वाचित नेताहरूले शपथ लिने कार्यक्रम तय गरिएको हो।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार यसपटक शपथ ग्रहण कार्यक्रम विगतको भन्दा फरक ढाँचामा हुनेछ। शपथ ग्रहणसँगै नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरण गरी पदबहालीसमेत गराइनेछ।

९४ प्रतिशत मतसहित गगन थापा सभापतिमा निर्वाचित

असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको हो। सभापति पदमा थापा ९४ प्रतिशत मतसहित निर्वाचित भएका थिए।

नयाँ कार्यसमितिको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन्।

त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्। विभिन्न समावेशी तथा प्राज्ञिक प्रतिनिधित्व समेटिएको नयाँ कार्यसमितिले अब पार्टीको संगठनात्मक गतिविधि र आगामी राजनीतिक कार्यक्रमलाई अघि बढाउनेछ।

एक लाख ६२ हजार मतपत्रको गणना एक सातामै

यसपटकको महाधिवेशन निर्वाचन व्यवस्थापनका हिसाबले पनि चर्चामा रह्यो। निर्वाचन समितिका सदस्य सचिव कटुवालका अनुसार १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना सम्पन्न गर्न १२ दिन लागेको थियो। यसपटक भने सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको हो।

यस निर्वाचनमा झण्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको थियो। कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो।

महाधिवेशनमा असोज २३ गते मतदान भएको थियो। सोही दिन राति राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना सुरु गरिएको थियो। सभापति पदको नतिजा असोज २४ गते बिहान सार्वजनिक भएको थियो।

अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा गरिएको थियो। निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected