0Shares

भलिबल, घोडा दौड र सांस्कृतिक कार्यक्रममार्फत गाउँको पहिचान विस्तार गर्ने प्रयास

लान्द्रुक, कास्की । स्थानीय पर्यटनलाई चलायमान बनाउने र गाउँको सांस्कृतिक पहिचानलाई व्यापक प्रचारप्रसार गर्ने लक्ष्यसहित कास्कीको अन्नपूर्ण गाउँपालिका–७, लान्द्रुकमा ‘गन्तव्य लान्द्रुक दशैं मेला–२०८३’ सुरु भएको छ। क्युप्चेबराह क्लब लान्द्रुकको आयोजनामा कात्तिक ६ देखि सुरु भएको मेला कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ।

पर्यटकीय गाउँ लान्द्रुकमा आयोजित मेलाले खेलकुद र संस्कृतिलाई पर्यटनसँग जोड्ने प्रयास गरेको छ। पुरुष तथा प्रौढ भलिबल प्रतियोगिता, घोडा दौड र सांस्कृतिक कार्यक्रम मेलाका मुख्य आकर्षण हुन्। आयोजकका अनुसार भलिबल प्रतियोगितामा २० टोली सहभागी भइसकेका छन्।

स्थानीय स्तरमा आयोजना हुने यस्ता मेलाले पर्यटकलाई गाउँसम्म आकर्षित गर्ने, स्थानीय गतिविधिलाई प्रवर्द्धन गर्ने र गाउँको मौलिकता चिनाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। तर यसको प्रभाव मेला अवधिमा हुने गतिविधिमा मात्र सीमित नराखी दीर्घकालीन पर्यटन विकाससँग जोड्नु मुख्य चुनौती हुनेछ।

मेलाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले लान्द्रुकको पर्यटन प्रवर्द्धनमा मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले गाउँको समग्र विकासका लागि गाउँपालिका साथमा रहेको उल्लेख गर्दै पर्यटन, संस्कृति र पूर्वाधार विकासमा सहकार्य आवश्यक रहेको बताए।

गाउँपालिका प्रवक्ता एवं वडा नं. ७ का अध्यक्ष भरतमान गुरुङले लान्द्रुक गाउँको पर्यटकीय महत्त्व र मौलिक पहिचानलाई मेलाले थप प्रचारप्रसार गर्ने बताए। उनले सामाजिक, जातीय, धार्मिक, सांस्कृतिक तथा भाषिक विविधताको सम्मान गर्दै सद्भाव र एकता कायम गर्नुपर्नेमा जोड दिए।

अन्नपूर्ण महिला सञ्जालकी अध्यक्ष कमला केसीले सामाजिक गतिविधिमा महिलाको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै महिला सशक्तीकरणका लागि सबै पक्षको सहयोग हुनुपर्ने धारणा राखिन्।

कार्यक्रममा निवर्तमान वडा अध्यक्ष एवं संरक्षण व्यवस्थापन समिति, लुम्लेका अध्यक्ष घनश्याम चापागाईं, वडा सदस्य राम गुरुङ, पूर्व वडा अध्यक्ष बुद्धिप्रसाद गुरुङ, स्थानीय समाजसेवी गिरिधारी पौडेल तथा दूधेब‍राह आमा समूहकी सचिव सक्रिय गुरुङलगायतले मेलाको सफलताको शुभकामना दिए।

मेला संयोजक विष्णु चापागाईंले मेलाको अवसरमा लान्द्रुक भ्रमण गरी स्थानीय पर्यटन प्रवर्द्धनमा सहयोग गर्न पर्यटक तथा सर्वसाधारणलाई आग्रह गरे। क्लबका अध्यक्ष विनय गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा सचिव हितमान गुरुङ ‘राजु’ले स्वागत मन्तव्य राखे भने पूर्वसचिव बलबहादुर केसीले कार्यक्रम सञ्चालन गरे। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो।

कात्तिक १० गतेसम्म सञ्चालन हुने मेलाले स्थानीय खेलकुद प्रतिभाको पहिचान, संस्कृति संरक्षण र लान्द्रुकको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने आयोजकको अपेक्षा रहेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected