
अन्नपूर्ण, कास्की । लुम्बिनी प्रदेशका प्रमुख सचिव विनोद बहादुर कुँवरले अवकाशपछि जन्मभूमिको विकास र आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक उन्नतिमा योगदान गर्ने प्रतिबद्धता जनाएका छन्।
भूपू विद्यार्थी मञ्च माछापुच्छ्रे माध्यमिक विद्यालय/क्याम्पस, ढिकुरपोखरीद्वारा शुक्रबार आयोजित पूर्वविद्यार्थी पुनर्मिलन, २१औँ साधारणसभा तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कुँवरले आफूले अध्ययन गरेको विद्यालय र जन्मभूमिप्रतिको दायित्वलाई निरन्तरता दिने बताएका हुन्।
सरकारी सेवामा रहँदा कास्की तथा अन्नपूर्ण गाउँपालिकाका विभिन्न विकास निर्माण र सामाजिक गतिविधिमा भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले स्थानीय आवश्यकताअनुसार संघीय तथा प्रदेश सरकारबाट विकासका योजना ल्याउन पहल गर्दै आएको बताए। अवकाशपछि पनि सरकारी सेवाबाट प्राप्त अनुभव, ज्ञान र सीपलाई स्थानीय विकास, शैक्षिक उन्नति तथा सामाजिक हितमा उपयोग गर्ने उनको भनाइ थियो।
औपचारिक जिम्मेवारीबाट अवकाश हुँदैमा समाजप्रतिको दायित्व समाप्त नहुने उल्लेख गर्दै कुँवरले विद्यालयको प्रगतिमा पूर्वविद्यार्थीले योगदान गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी पूर्वविद्यार्थीहरूले विद्यालयमा अध्ययन गर्दाका सम्झना साझा गर्दै आपसमा शुभकामना आदानप्रदान गरेका थिए। उनीहरूले पूर्वविद्यार्थीबीचको सम्बन्धलाई सुदृढ बनाउँदै विद्यालयको शैक्षिक गुणस्तर सुधार र स्थानीय समुदायको विकासमा सहकार्य गर्नुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा पूर्वविद्यार्थीको ज्ञान, सीप र अनुभवलाई विद्यालयको शैक्षिक उन्नतिमा उपयोग गर्ने विषयमा समेत छलफल भएको मञ्चका अध्यक्ष फणिन्द्र अधिकारीले जनाए।













