0Shares

पोखरा । यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै शुभ अधिकारी ट्राभल्सले अत्याधुनिक एसी, सोफा र स्लिपर सिटसहितको एयर सस्पेन्सन बस सेवा सञ्चालनमा ल्याएको छ।

बुधबार पोखरा–५ का ज्येष्ठ नागरिक द्वय बिमल तिमिल्सिना र केदारनाथ बरालले संयुक्त रूपमा रिबन काटेर नयाँ बस सेवाको शुभारम्भ गरेका थिए। सो अवसरमा बोल्दै बरालले शुभ अधिकारी ट्राभल्सले समयको मागअनुसार नयाँ–नयाँ सुविधा थप्दै आइरहेको बताउँदै कम्पनीले नेपालभित्र मात्र नभई भारतका धार्मिक स्थलहरूमा समेत यातायात सेवा पुर्‍याउँदै आएको स्मरण गरे।

त्यसैगरी तिमिल्सिनाले शुभ अधिकारीले सुरुदेखि नै यात्रु अनुकूल सेवा उपलब्ध गराउँदै आएको भन्दै आफ्ना परिवारजनले समेत यसै ट्राभल्समार्फत यात्रा गर्ने गरेको अनुभव सुनाए।

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका कार्यालय प्रमुख ज्ञानेन्द्र थापाले शुभ अधिकारी टूर्स एण्ड ट्राभल्सले ३० वर्षअघि पोखरा–बागलुङबाट बस सञ्चालन सुरु गरेको स्मरण गर्दै अहिले नेपाल र भारतका विभिन्न सहरसम्म सेवा विस्तार गरेको जानकारी दिए। उनले समयअनुसार भाडा व्यवस्थापनमा समेत एकरूपता कायम गर्दै आएको बताए।

कम्पनीका प्रबन्ध निर्देशक (एमडी) टिकाराम अधिकारीले २०७२ सालदेखि पोखरा–काठमाडौँ मार्गमा पर्यटकीय बस सञ्चालन गर्दै आएको स्मरण गर्दै नयाँ सुरु गरिएको बस अघिल्लाभन्दा फरक र थप सुविधा सम्पन्न रहेको बताए। उनले यो सेवा विशेष गरी स्वदेशी यात्रु र वृद्ध आमाबुबालाई लक्षित गरिएको उल्लेख गरे।

बस सेवामा यात्रुहरूले सोफा र स्लिपर सिट, एसी, ब्लाङ्केट, मोबाइल चार्जर, खाजा र पानीको सुविधा पाउनेछन्। पोखरा–काठमाडौँ मार्गको भाडा १,२०० रूपैयाँ तोकिएको छ। नयाँ बस ३७ सिट क्षमतासहित ४ वटा स्लिपर सिट भएको र करिब २ करोड ५० लाख लागतमा सञ्चालनमा ल्याइएको एमडी अधिकारीले जानकारी दिए।

बस दैनिक पोखराबाट बिहान ७ बजे र साँझ ७ बजे छुट्नेछ भने काठमाडौँको साँखुदेखि बिहान ६ः४५ मा प्रस्थान गर्नेछ। यात्रुको चाप बढे पनि भाडामा कुनै परिवर्तन नहुने कम्पनीले जनाएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected