0Shares

काठमाडौं । जेनजी आन्दोलनले ल्याएको रूपान्तरणको लहरबीच देशका १० वटा पुराना कम्युनिस्ट घटकहरू एकीकृत हुँदै नयाँ राजनीतिक संगठन ‘नेपाली कम्युनिस्ट पार्टी’ (नेकपा) को घोषणा गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित भव्य एकता सम्मेलनमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपा (चिरन पुन समूह), नेकपा (समाजवादी माओवादी), नेकपा साम्यवादी, देशभक्त मोर्चा लगायत दल र समूहहरू एकीकृत हुँदै नयाँ पार्टीमा रूपान्तरण भएका हुन् ।

नवगठित पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल तोकिएका छन् । सम्मेलनलाई नै राष्ट्रिय सम्मेलनका रूपमा घोषणा गर्दै पार्टीको घोषणापत्र र विधान पनि सार्वजनिक गरिएको छ ।

नेताहरूले नयाँ पार्टीलाई देशमा समाजवाद हुँदै साम्यवादसम्मको मार्गमा अग्रसर गराउने प्रतिबद्धता जनाएका छन् । ‘जेनजी पुस्ताका मुद्धा र आकांक्षाको सम्बोधनमा पार्टी सधैं अग्रसर रहन्छ,’ प्रतिवद्धता पत्रमा भनिएको छ, ‘नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमान रक्षा हाम्रो मूल लक्ष्य हुनेछ ।’

२३ बुँदे प्रतिवद्धता : सुशासनदेखि आत्मनिर्भर अर्थतन्त्रसम्म

नवगठित पार्टीले भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीको अन्त्य, सुशासन, पारदर्शिता र सामाजिक न्यायको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ ।
उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति जाँचबुझ गरी भ्रष्टाचारविरुद्ध कडा कारबाही गर्ने घोषणा गरिएको छ ।

त्यस्तै, शिक्षा र स्वास्थ्यमा पहुँच, स्वदेशी उद्योग र कृषि विकास, रोजगारी सिर्जना, र आर्थिक आत्मनिर्भरता पार्टीका प्राथमिक एजेन्डा रहने जनाइएको छ । ‘शोषण, अन्याय, विभेद र विकृति–विसंगतिको अन्त्य गर्दै समाजको रूपान्तरणका लागि संघर्षरत रहन्छौं,’ घोषणापत्रमा उल्लेख छ ।

कार्यक्रममा संयोजक प्रचण्डले १० वटा घटकबीचको एकतालाई नेपालको कम्युनिस्ट इतिहासमा अभूतपूर्व घटना भन्दै उत्साह प्रकट गरे ।
‘अब नयाँ शक्ति निर्माण भयो,’ उनले भने, ‘यो केवल एकता होइन, देशका संकट समाधानको नयाँ प्रारम्भ हो ।’ उनका अनुसार यो एकता अब “इतिहासबाट मेट्न नसकिने” खालको मोड हो ।

सहसंयोजक माधवकुमार नेपालले नयाँ एकतालाई वामपन्थी आन्दोलनको अग्निपरीक्षा भन्दै यसलाई पुराना दलहरूको पुनःसंरचना नभई नयाँ युगको प्रारम्भको रूपमा व्याख्या गरे । ‘नेकपाकालका ९ शीर्ष नेतामध्ये ५ जना यहीँ छन्, त्यसैले मूल धारा यही हो,’ उनले भने, ‘हामीले विगतका कमजोरी सच्याएर नयाँ शैलीमा अघि बढ्छौं ।’

कार्यक्रममा नेताहरू झलनाथ खनाल, देव गुरुङ, वामदेव गौतम, बेदुराम भुसाल, पम्फा भुसाल, महेन्द्र राय यादव, सुवासराज काफ्ले, राजु कार्की, चिरन पुन, कर्णजीत बुढाथोकी, र प्रेमबहादुर सिंहलगायतले पार्टी एकताको औचित्य, आवश्यकता र नयाँ दिशाबारे धारणा राखे ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected