10Shares

काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव गरिएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यससम्बन्धी संशोधन प्रस्ताव पेश गरेका हुन्।

यसअघि काँग्रेस केन्द्रीय कार्यसमितिले महाधिवेशन पुस २६ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो। तर तोकिएको समयभित्र आवश्यक तयारी पूरा हुन नसक्ने निष्कर्षमा नेतृत्व पुगेपछि पूर्वनिर्धारित कार्यतालिका संशोधन गर्ने प्रस्ताव अघि सारिएको हो।

कार्यवाहक सभापति खड्काले बैठकमा प्रस्तुत गरेको प्रस्तावअनुसार महाधिवेशनअघि पार्टीका तल्लो तहका अधिवेशनहरू नयाँ मितिमा सम्पन्न गरिनेछ। संशोधित कार्यतालिकाअनुसार आउँदो चैत २१ गते वडा अधिवेशन गर्ने प्रस्ताव गरिएको छ। त्यसैगरी, चैत २५ गते गाउँ तथा नगरपालिकाको अधिवेशन सम्पन्न गर्ने उल्लेख छ।

त्यसपछि चैत २८ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने प्रस्ताव गरिएको छ। आउँदो वैशाख २ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तथा एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको जिल्लाको जिल्ला अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ।

पार्टी संगठन सुदृढीकरण, सदस्यता नवीकरण तथा आन्तरिक लोकतान्त्रिक अभ्यासलाई व्यवस्थित गर्न तल्लो तहका अधिवेशन समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याउँदै नेतृत्वले कार्यतालिका संशोधन अपरिहार्य भएको जनाएको छ। बैठकमा सहभागी नेताहरूले प्रस्तावित मितिबारे आ–आफ्ना धारणा राखेका छन् भने संशोधन प्रस्तावमाथि थप छलफलपछि अन्तिम निर्णय लिने तयारी गरिएको छ।

महाधिवेशन नेपाली काँग्रेसको सर्वोच्च नीति–निर्माण तह भएकाले नेतृत्व चयन, विधान संशोधन र भावी राजनीतिक कार्यदिशा तय गर्ने दृष्टिले यसलाई महत्त्वपूर्ण मानिन्छ। संशोधित कार्यतालिका स्वीकृत भएमा पार्टीले नयाँ मितिअनुसार संगठनात्मक तयारीलाई तीव्रता दिने जनाएको छ।

10Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected