
पोखरा, २९ फागुन । ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर पर्यटन व्यवसायी महिला संघ (टेवान) पोखराले महिलाको स्वास्थ्य सचेतनालाई प्राथमिकता दिँदै मेनोपज सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोग तथा कास्की मोडेल हस्पिटलको प्राविधिक सहकार्यमा आयोजित उक्त कार्यक्रम शुक्रवार पोखरामा सम्पन्न भएको हो।

पोखरा महानगरपालिका–६, बैदामस्थित महिला सञ्जाल अन्तर्गत रहेका १८ वटा आमा समूहका प्रतिनिधिहरू तथा पर्यटन क्षेत्रमा क्रियाशील महिलासहित करिब ९० जना महिला सहभागी कार्यक्रममा उपस्थित भएका थिए। कार्यक्रममा मेनोपजसँग सम्बन्धित स्वास्थ्य समस्या, त्यसको व्यवस्थापन, मानसिक र शारीरिक परिवर्तन तथा जीवनशैली सुधारका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा. डा. चण्डिका पण्डितले मेनोपज महिलाको जीवनको स्वाभाविक जैविक प्रक्रिया भए पनि यसबारे पर्याप्त जानकारीको अभावका कारण धेरै महिलाहरू अनावश्यक चिन्ता र स्वास्थ्य समस्यामा पर्ने गरेको बताइन्। उनले मेनोपजका लक्षणहरू, हर्मोनल परिवर्तन, हड्डीको स्वास्थ्य, मानसिक अवस्था तथा सन्तुलित आहार–व्यवहारको महत्त्वबारे सहभागीहरूलाई जानकारी गराउँदै समयमै स्वास्थ्य परीक्षण र चिकित्सकसँग परामर्श लिन आग्रह गरिन्।
कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी महिला संघ (टेवान) पोखराका अध्यक्ष शोभा न्यौपाने पाण्डेले टेवानले पर्यटन प्रवर्द्धनका गतिविधिसँगै महिलाको क्षमता अभिवृद्धि, नेतृत्व विकास, उद्यमशीलता तथा स्वास्थ्य सचेतनाका क्षेत्रमा पनि निरन्तर कार्यक्रम गर्दै आएको बताइन्। उनले पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढ्दै गइरहेको अवस्थामा उनीहरूको स्वास्थ्य र आत्मविश्वासलाई सुदृढ बनाउनु अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गरिन्।
त्यस्तै पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन प्रवर्द्धनका साथै सामाजिक उत्तरदायित्वका क्षेत्रमा टेवानले खेल्दै आएको सक्रिय भूमिकाको प्रशंसा गरे। उनले पर्यटन क्षेत्रको दिगो विकासका लागि महिला उद्यमीहरूको योगदान उल्लेखनीय रहेको बताउँदै यस्ता स्वास्थ्य सचेतनामूलक कार्यक्रमले महिलाको कार्यक्षमता र आत्मबल बढाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, जनस्वास्थ्यकर्मी जिता बराल, महिला सञ्जाल बैदामका अध्यक्ष बबिता मल्ल लगायतले पनि आफ्नो धारणा व्यक्त गर्दै महिलाको स्वास्थ्य सम्बन्धी जानकारी समाजका सबै तहमा फैलाउन यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताए।
टेवानका अध्यक्ष शोभा न्यौपाने पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव शोभा अधिकारी पौडेलले गरेकी थिइन् भने कार्यक्रमको संयोजन सुधा सुवेदी बरालले गरेकी थिइन्।
कार्यक्रमका अवसरमा सहभागी महिलाहरूका लागि सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप (प्रेसर), सुगर लगायतका स्वास्थ्य परीक्षण निःशुल्क रूपमा गरिएको थियो। यसले सहभागी महिलाहरूलाई आफ्नो स्वास्थ्य अवस्थाबारे प्रत्यक्ष जानकारी लिन सहयोग पुगेको आयोजकले जनाएको छ।
यसै अवसरमा टेवान र कास्की मोडेल हस्पिटलबीच टेवानका सदस्यहरूले अस्पतालबाट प्राप्त गर्न सक्ने स्वास्थ्य सेवासम्बन्धी सहकार्यको सम्झौतापत्रमा हस्ताक्षर गरिएको महासचिव शोभा अधिकारी पौडेलले जानकारी दिइन्। उक्त सम्झौतामार्फत टेवानका सदस्य महिलाहरूले स्वास्थ्य सेवा लिँदा विशेष सुविधा तथा सहुलियत पाउने अपेक्षा गरिएको छ।
महिलाको स्वास्थ्य, सशक्तीकरण र सामाजिक चेतनालाई केन्द्रमा राखेर आयोजना गरिएको यस कार्यक्रमले पर्यटन क्षेत्रमा सक्रिय महिलाहरूलाई मात्र नभई समग्र समाजमा मेनोपजबारे खुला छलफल र स्वास्थ्यप्रति सचेत बन्ने वातावरण सिर्जना गरेको आयोजकको विश्वास रहेको छ।





सम्बन्धित खवर















