
पोखरा । बजार अनुगमनका क्रममा ग्यास सिलिन्डर लुकाएर कृत्रिम अभाव सिर्जना गरेको आरोपमा एक ग्यास डिलरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, नेपाल आयल निगम, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा उपभोक्ता मञ्चका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले पोखराका विभिन्न स्थानमा रहेका पाँचवटा ग्यास डिलरको अनुगमन गरेको थियो।

अनुगमनका क्रममा तीनवटा ग्यास डिलरमा ग्यासको मौज्दात तथा अभिलेख व्यवस्थित नभएको पाइएको प्रशासनले जनाएको छ। त्यस्तै एक डिलरमा १४.२ केजी क्षमताको एलपी ग्यास सिलिन्डर भण्डारण गरी लुकाइएको अवस्थामा फेला परेको थियो।

कास्कीको पोखरा महानगरपालिका–६, जरेवरस्थित भण्डारी ट्रेडिङ एन्ड सप्लायर्समा अनुगमन गर्दा ४८वटा एलपी ग्यास सिलिन्डर (१४.२ केजी) र ३८ वटा एलपी ग्यास सिलिन्डर (७.१ केजी) लुकाइराखिएको पाइएको थियो। साथै एउटा सिलिन्डरबाट अर्को सिलिन्डरमा ग्यास सारिएको उपकरणसमेत भेटिएको प्रशासनले जनाएको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उक्त ट्रेडिङलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन्।
प्रशासनले उपभोक्तालाई प्राथमिकता नदिई ग्यास बिक्री वितरण गर्ने, ग्यासको परिमाण परिवर्तन गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने तथा अन्य अनियमित गतिविधि नगर्न सबै व्यवसायीलाई निर्देशनसमेत दिएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीले आगामी दिनमा पनि उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।





सम्बन्धित खवर















