0Shares

काठमाडौं । सरकारले ‘नेपाल लगानी सम्मेलन’को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चैत्र १५ र १६ गते आयोजना हुने लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको हो ।

काठमाडौंमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुनेछ । सम्मेलनमा विभिन्न ४० मुलुकका उच्च स्तरीय प्रतिनिधिमण्डललगायत ६ सय भन्दा बढि विदेशी लगानीकर्ताहरुको उपस्थिति रहनेछ । अर्थमन्त्री खतिवडाले सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थिति विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजीक्षेत्र, गैह्–आवासीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहने पनि स्पष्ट पार्नुभयो ।
दुई दिने सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवम् शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्ताव गर्र्नेछ ।

त्यस्तै सम्मेलनमा करिब १२ वटा सम्झौतामा हस्ताक्षर गरिने तयारी भएको अर्थमन्त्री खतिवडाले बताउनु भयो । सम्मेलनमा म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंक अन्तरगतको वहुपक्षीय लगानी प्रत्याभूति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसंचालन सम्बन्धी उपाध्यक्ष डोङ ली तथा माईक्रोसफ्ट, अमेजन, पावर चाईना, चाईना रेलवे, डाबर, यूनिलिभर लगायतका विश्व प्रसिद्ध कम्पनीहरुको उच्चपदस्थ प्रतिनिधिहरुको उपस्थिति रहनेछ । उक्त दुई दिने सम्मेलनको पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतिकरण हुने पनि अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो । नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्बन्धी अनुभवसहित सात वटा विषयगत सत्रहरु पनि सम्मेलनमा संचालन गरिने पनि कार्यक्रम तय गरिएको छ । अर्थमन्त्री खतिवडाले सम्मेलनको अन्तिम दिन शनिबार दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्रहरु संचालन हुने पनि जानकारी दिनु भयो ।

अर्थमन्त्री खतिवडाले सम्मेलनलाई सफल बनाउन पनि सबै पक्षलाई आह्वान गर्नुका साथै आवश्यक सुरक्षाको उचित व्यवस्था मिलाइएको समेत बताउनु भयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected