निर्वाचनको समयमा जे जस्ता कुरालाई प्राथमिकतामा राखेर जनता समक्ष गएका थियौं, सोहि बमोजिमको काम गर्नाले हामीले गरेका कार्यबाट अन्नपूर्णवासी सकारात्मक नै रहेको मैले पाएको छु

युवराज कुवँर
अध्यक्ष
अन्नपूर्ण गाउँपालिका, कास्की
नयाँ संविधान अनुसार तीन तहको सरकारको पहिलो निर्वाचनले प्रतिनिधि बनाएको व्यक्तिका रुपमा तपाईंको अनुभव कस्तो छ ?
संविधानले सह–अस्तित्व स्वीकार गरेको हुनाले बिकासमा जनप्रतिनिधिको अनिवार्यता स्वीकार गरेको अनुभब गरेको छु । वडा तहबाट संघीय संसदसम्म महिला, दलित, जनजाति÷आदीबासी सबैको प्रतिनिधित्व हुनुलाई सकारात्मक रुपमा लिएको छु । पहिलो निर्वाचनले स्थानीय तहमा अन्नपूर्ण गाउँपालिकाको रुप रेखा कोर्ने मौका पाउँदा आफुलाई भाग्यमानी ठानेको छु । यस अबधिमा हामीले गरेका सकारात्मक परिवर्तनका कामहरुले निरन्तरता पाए सबै वडाबासीको जीबनस्तर सुधार हुने अपेक्षा लिएको छु ।
संघीय संरचना कार्यान्वयनका क्रममा पहिलो पटक स्थानीय तहको नेतृत्व तपाईले गर्नु भयो ? कस्ता कस्ता चुनौतीको सामना गर्नु प¥यो ?
राज्यको पुनर्संरचना पश्चात राज्य संघीयता कार्यान्वयन गर्ने कामको शुरुवाती चरणको क्रममा रहेकोले संघीय सरकारबाट कुनैपनि ऐन, नियम तथा कानून प्राप्त नभएको अबस्थामा स्थानीय तह संचालन गर्न अति नै द्विविधायुक्त थियो । संघीय सरकारबाट स्थानीय सरकार सञ्चालन ऐन २०७४ को निर्माण पश्चात मात्र स्थानीय तह सञ्चालन गर्न थप ऐन नियम तथा कार्यबिधि बनायर काम गर्दा संघीयता कार्यान्वयनकै क्रममा हामीले बिभिन्न चुनौतीको सामना गर्नुप¥यो । सुरुवाती चरणमा कार्यालय एबम कर्मचारी ब्यबस्थापन, बैठक एबम सभा सञ्चालन प्रकृया जस्ता बिषयमा द्विविधा थियो, त्यस्तै आवश्यक ऐन, नियम जस्ता कानून निर्माणमा समेत केहि जटिलता आए तर काम गर्दै जाँदा अनुभब र समन्वय गरेर आवश्यक कानून निर्माण, बिकासको लागि पञ्चबर्षीय योजनाको निर्माण ग¥र्यौंं, आन्तरिक नियन्त्रणको लागि मध्यकालिन खर्च संरचना निर्माण ग¥यौं र सोहि अनुसार बार्षिक बजेट निर्माण ग¥र्यौंं । हरेक योजना निर्माण गर्दा टोल, बस्ती, वडा, बिषयगत समिति, बजेट योजना तर्जुमा समितिसँग छलफल गरी गर्ने गरेका छौं जसले गर्दा योजना कार्यान्वयन प्रभाबकारी भइरहेको छ ।
कार्यकालको अन्त अन्तमा आइपुग्न लाग्नु भएको छ, तपाईले गरेका कार्यमा के गाउँपालिकावासी सन्तुष्ट छन जस्तो लाग्छ ?
गाउँपालिकाको आर्थिक, सामाजिक तथा पूर्वाधारका क्षेत्र लगायत सामाजिक समाबेशीकरणमा हामीले काम गरेका छौं । जनताका सबै आवश्यकता श्रोत र साधनको अभावले गर्दा सबै हुन सकेका छैनन । निर्वाचनको समयमा हामीले गुणस्तरीय पूर्वाधार, गुणस्तरीय तथा सर्वसुलभ शिक्षा तथा स्वास्थ्य सेवा, आन्तरिक उत्पादनको प्रवर्धन तथा बजारीकरण, स्वच्छ खानेपानी, पर्यटन प्रवद्र्र्धन जस्ता कुरालाई प्राथमिकतामा राखेर जनता समक्ष गएका थियौं, यो अन्तरालमा सोहि बमोजिमको काम गर्नमै हामी लाग्यौं । तसर्थ समग्रमा हेर्दा हामीले गरेका कार्यबाट अन्नपूर्णवासी सकारात्मक नै रहेको मैले पाएको छु ।

विकास निर्माणमा प्रदेश र संघीय सरकारबाट के कस्तो सहयोग पाउनु भयो ?
नेपालको संबिधान २०७२ ले संघ, प्रदेश र स्थानीय तहको सहकार्य, समन्वय र सहअस्तित्वको परिकल्पना गरेको छ । म समन्वय र सहकार्यको पक्षपाति भएकोले गर्दा आफ्नो कार्यकालमा सबै तिरबाट सहयोगको अपेक्षासहित अघि बढें । बजेट निर्माण प्रकृया समेत पहिला संघ, प्रदेश र अनि मात्र स्थानीय तहको हुने हुँदा बिकास निर्माणको काममा ठूला आयोजना माग गर्नको लागि संघ र प्रदेशमा बेला बेला घचघच्याउन गैरहन्थें, त्यही अनुरुप संघ र प्रदेशबाट अपेक्षाकृत सहयोग पाइरहेका छौं । राष्ट्रिय योजना आयोग मार्फत हरेक बर्ष प्राप्त हुने समपुरक र बिशेष अनुदान संयुक्त साझेदारीको उदाहरण हो । संघ, प्रदेश र स्थानीय तहका बिचमा कुनै पनि दुरी रहनु हुँदैन भन्ने मेरो मान्यता हो ।
अन्नपूर्ण गाउँपालिका पर्यटन सँगसगै जल जंगल र जड़ीबुटीमा सम्पन्नमा पर्दछ, कत्तिको सदुपयोग गर्नु भयो ?
अन्नपूर्ण गाउँपालिका पर्यटनमा प्रचुर सम्भावना भएको ठाउँ हो । यो गाउँपालिका अन्नपूर्ण पदयात्रा र अन्नपूर्ण आधार शिबिर यसै पालिका भित्र पर्दछन्, हाम्रो नारा नै “कृषि,पर्यटन र पूर्वाधार, अन्नपूर्ण समृद्धिको आधार“ भएको हुँदा पर्यटनको महत्व स्पष्ट छ । सडकको निर्माण सँगसँगै पैदल मार्गको निर्माण समेत गर्ने गरेका छौं, हरेक बर्ष अन्तराष्ट्रिय अन्नपूर्ण म्याराथन दौड र सेन्चुरी पर्यटन महोत्सब आयोजना गरेर देश विदेशमा प्रचार प्रसार गर्दै आएका छौं ।
हाम्रो पालिकाभित्र मोदी नदीको प्रबाह रहेकोले ५० मेगावाटको माथिल्लो मोदी, १२ मेगावाटको तल्लो मोदी, १७ मेगावाटको बुलौंदी निर्माणको सहजिकरण गरेका छौं साथै सम्भाव्यता अध्ययन भएका थुप्रै जलबिद्युत आयोजना समेत रहेका छन् । सबै जल बिद्युत परियोजनामा गाउँपालिकाको निश्चित शेयर हिस्सा हुनुपर्नेमा आवाज उठाएको छु । जंगलको बिषयमा बन संघीय सरकारको क्षेत्राधिकारमा पर्ने, हाम्रो गाउँपालिका एक्यापको क्षेत्र रहेकाले अधिकारको दोहोरोपना भएको पाएको छु । गाउँपालिकाले अधिकतम उपयोग गर्न एक्यापको अधिकारमा पुनर्विचार गर्नुपर्ने देखेको छु ।
प्रायः स्थानीय तहमा बेरूजु बढ़दो मात्रामा रहेको सुनिन्छ ? तपाईको पालिकामा बेरूजुको अवस्था कस्तो छ ?
अन्नपूर्ण गाउँपालिकामा हामी निर्वाचित भएपछि आन्तरिक नियन्त्रण प्रणाली अपनाई बेरुजूको अवस्थालाई शुन्यमा झार्ने नीति लिएका थियौं । कुनै पनि योजनाको भुक्तानी पेश्की नभई रनिङ बिलको आधारमा भुक्तानी गर्ने ब्यबस्था मिलाएको छु । गाउँपालिकामा पेश्की शून्य छ । अघिल्लो गाबिसहरुको सरी आएको लगत बेरुजू बाहेक हाल गाउँपालिकाको बेरुजू तिन प्रतिशत भन्दा कम छ । नमूना माध्यामिक बिद्यालयको रकम संघीय सरकारबाट असारको अन्त्यमा निकासा हुने र भुक्तानी कार्यसम्पन्न प्रतिबेदन अन्तिममा गर्न नसक्दा केहि थोरै अंश मात्र भएको कुरा अनुरोध गर्दछु । मलेप प्रतिबेदनमा रहेको सैद्धान्तिक बेरुजु गाउँसभाको बैठक बसी सम्परीक्षणको लागि पेश गर्ने गरेको छु, आशा छ आन्तरिक नियन्त्रण प्रणाली प्रभाबकारी कार्यान्वयन गरि यसतर्फ ठोस कदम चाल्नेछु । नपुग बिल भरपाई निर्णय समयमै सम्पन्न गर्ने प्रतिबद्धता गर्दछु ।
निर्वाचनका समयमा तपाईका घोषणापत्रमा प्रस्तुत भएका प्रतिबद्वता के कति पूरा भए ?
२०७४ सालको स्थानीय निर्वाचनको समयमा हाम्रो पार्टीको नीति तथा निर्वाचनको समयमा जनतासामु हामीले गरेका प्रतिबद्धता पुरा गर्ने क्रममा नै छौं । अन्नपूर्ण गाउँपालिकामा कृषिको लागि उर्वर जमिन भएको साथै अन्नपूर्ण गाउँपालिका पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तब्य घान्द्रुक तथा अन्नपूर्ण बेश क्याप समेत यस गाउँपालिका रहेको हुँदा अन्नपूर्ण गाउँपालिकाले कृषि, पर्यटन र पूर्वाधार अन्नपूर्ण समृद्धिको आधार भन्ने नारा तय गरी कृषि पर्यटन र पुर्वाधारको क्षेत्रलाइ मुख्य प्राथमिकतामा राखी यस क्षेत्रमा जनताले बिकासको अनुभूति गर्ने गरि काम गर्ने बाचा गरेका थियौं । पूरा गर्न नसकिने खालको काम गर्ने झुट्ठो आश्वासन दिएका थिएनौं । स्थानीय तहको निर्वाचन भएको पाँच बर्ष पुग्न लागेको छ । यस अन्तरालमा हरेक बर्ष अन्नपूर्ण गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा यिनै कुरालाई प्राथमिकता दिंदै सोहि अनुसारको योजना सञ्चालन गर्दै आइरहेको छ । जसबाट अन्नपूर्णबासीले नै महसुस गर्ने गरी हामीले प्रतिबद्धता व्यक्त गरेका अधिकांश काम तथा योजना पूरा भएका छन् र कतिपय पूरा हुने क्रममा छन् ।

तपाईको कार्यकाल सकिदा यो पालिका कस्तो बन्ने कल्पना गर्नु भएको छ ?
संबिधानले स्थानीय तहलाई सरकारको परिकल्पना गरेको छ । स्थानीय तहमा व्यबस्थापिका, कार्यपालिका र न्यायपालिका तीन वटै सरकारका अंगको कार्यान्वयन गरेको छु । “समृद्ध नेपाल, सुखी नेपाली“ को अवधारणा साकार पार्न काम गरेको ठानेको छु । दिगो बिकास लक्ष हाँसिल गर्न परिकल्पना गरिएका १७ वटा लक्ष्य हाँसिल गर्न नीति तथा कार्यक्रममा समाबेश गर्ने गरेको छु । अन्नपूर्ण गाउँबासीको समृद्ध पालिकाको परिकल्पना पञ्चबर्षिय (आबधिक योजना) योजना मार्फत कोरेको छु । हाम्रा प्रतिबद्धता अधिकतम कार्यान्वयन भएका छन् । केहि बाँकी काम योजना मार्फत आगामी निर्वाचित पदाधिकारीलाई हस्तान्तरण हुने ठानेको छु । अन्नपूर्ण बहु प्राबिधिक शिक्षालयको स्थापना, पालिकाको केन्द्रको निर्णय, सबै वडा कार्यालयको भवन निर्माण, स्वास्थ्य चौकीको भवन निर्माण, १५ शैयाको अस्पताल निर्माण, सामुदायिक बिद्यालयको भवन निर्माण लगभग अन्तिम चरणमा पु¥याएको छु । राजश्वका श्रोत पहिचान गरि आन्तरिक आय वृद्धिमा जोड दिएका छौं । लगभग ४६०० घरधुरीमा एक घर एक धारा पुगेका छन् । महिला आय आर्जन तथा सचेतना एबम सशक्तिकरणका काम गरेको छु । आयोजना कार्यान्वयनमा उपभोक्ता समिति मार्फत रोजगारीको अवसर सृजना गरेको छु । समग्र प्रयासले सामाजिक रुपान्तरण, आर्थिक वृद्धिमा सहयोग पुगेको ठानेको छु । आगामी दिनमा यी रुपरेखाले गाउँपालिका समृद्ध हुने आशा लिएको छु ।
पाँच वर्षअघि निर्वाचनमा भाग लिंदा तपाईंले गर्नुभएका कुन घोषणा पूरा भए, कुन पूरा हुन सकेनन् ?
निर्वाचनको समयमा पूरा गर्न नसकिने कुनै पनि झुठो आश्वासन हामीले दिएका थिएनौं । परिवर्तन सानो सानो कुराबाट सुरु हुन्छ र सम्भब पनि छ भन्ने बिश्वास लिएको थिएँ । वडाबासीको बढ्दो आकांक्षा र हामीलाई प्राप्त सिमित बजेट बीच काम गर्नुपर्ने अवस्था थियो । यसका बाबजुत हालसम्म हामीले गरेका आर्थिक सामाजिक पूर्वाधार सुशासन जस्ता कामले सोचेको भन्दा राम्रो भएको अनुभव गरेको छु । यस अबधिमा गाउँपालिकाको समृद्धिको लागि अहोरात्र खटिने जनप्रतिनिधि र कर्मचारीलाई हार्दिक धन्यबाद दिन चाहन्छु । स्रोतको आधारमा अठोट लिइएको कुनैपनि काम गर्न नसकेको अबस्था छैन ।
पाँच बर्ष अघि तपाईंले गर्नुभएका घोषणा पूर्ण रुपमा पूरा नहुनु र आम जनता पूर्ण सन्तुष्ट नहुनुको कारण ?
असिमित जनचाहना तर सिमित श्रोत साधन, आवश्यक ऐन, नियम कानूनको अपर्याप्तता तथा स्थानीय तहको अधिकार क्षेत्र समेत समयमै प्रष्ट हुन नसक्दा हामीले निर्वाचनको समयमा गरेका घोषणा पूर्ण रुपमा पूरा हुन नसकेका पनि हुन सक्छन् । यद्यपि घोषणा अनुसारकै कामलाई बार्षिक नीति कार्यक्रममा प्राथमिकताका साथ अघि बढाएका छौं, जसले गर्दा समग्रमा आम जनताले बिकासको अनुभूति गर्न पाएका छन् । जनताको चाहना धेरै छन्, अधिकांश काम सम्पन्न हुनेगरी निरन्तरता दिएका छौं । निर्वाचनको बेला गाउँपालिकामा देखेको बिकासको सपना धेरै हदसम्म पूरा भएको ठानेको छु ।
तपाईंले हासिल गरेका प्रमुख पाँच उपलव्धि के हुन् ?
१. स्थानीय तहको निर्वाचनपश्चात् ऐन कानुन निर्माण गरेर मात्र कार्यालय व्यवस्थापन तथा सेवा प्रवाह गर्ने काम ग¥यौं ।
२. पर्यटन विकासको लागि सडक मार्गको विकल्पमा पैदल मार्गको अवधारणा लागु ग¥यौंं र करिब ८ कि.मी पैदल मार्ग निर्माण ग¥यौं ।
३. मानव स्वास्थ्यका लागि स्वास्थ्य चौकी र स्वास्थ्य इकाइबाट ३७ प्रकारका निशुल्क औषधीको अनिवार्य वितरणको व्यवस्था ग¥यौं । १५ श्ययाको अस्पतालको कार्यान्वयन शुरू ग¥यौं ।
४.एक घर एक धारा खानेपानीलाई सबै वडामा लागु ग¥यौं ।
५. अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको स्थापना र कृषितर्फका जनशक्ति उत्पादनको सुरुआत गरेका छौं ।
भौतिक विकास र मानवीय विकासमा सन्तुलन ल्याउने गरी काम गर्नुभयो ? कसरी ?
तपाइँको प्रश्न एकदम सान्दर्भिक लाग्यो । काम गर्दै जाँदा भौतिक विकास र मानवीय विकासको सह–सम्बन्ध थाहा पाएँ । भौतिक बिकास मानबको लागि रहेछ, मानब बिकास नभएसम्म भौतिक बिकास निरर्थक छ । बिकास हुन मानिसको सकारात्मक सोचाईको परिवर्तन हुन आवश्यक ठानेको छु । कर्मचारीदेखि जनप्रतिनिधि, वडाबासी, सबैको सकारात्मक विचारको परिवर्तन ठानेको छु । तालिम, सचेतना, रोजगारी सँगसँगै लानुपर्ने आवश्यकता ठानी सुरुवात गरेको छु ।
तपाईंले भोग्नुपरेका असजिला वा चुनौतीमध्ये प्रमुख पाँच चुनौती के हुन् ?
आर्थिक वर्ष साउनबाट शुरू हुने लगत्तै चाडबाड शुरू हुने र त्यसपछि खेतीबाली थन्क्याउने समय हुने कारणले योजना कार्यान्वयनमा समय अभाव हुने ठानेको छु ।
विकास निर्माण ठेक्का प्रक्रियाको सूचना प्रकाशन लगायत मूल्यांकनमा लामो समय व्यतित गर्नुपर्ने अवस्था, संघ, प्रदेश सरकारले दिएको बजेट सिलिङ अनुसार बजेट निर्माण गर्दा तोकिएको स्रोत प्राप्त नहुने, स्थानीय तहलाई प्राप्त अधिकार अनुसार करको दायरा साँगुरो हुनु, राजश्व बाँडफाँडमा संघीय सरकारले कम हिस्सा प्रदान गर्नु चुनौतिको रूपमा लिएको छु ।
स्थानीय तह गठन भएपछि विकासको लहर गाउँसम्म पुगेको छ । जनताहरू बसाइँ सरी शहर प्रवेश गर्दैछन् । जसले गर्दा जनसहभागिता जुटाउन योजना कार्यान्वयन गर्न अप्ठेरो परेको छ । जनप्रतिनिधिको विचार सधैं जनताको जीवनस्तर परिवर्तनको लागि हुन्छ ।
काम गर्दै जाँदा नीति र विधिले काम गर्न ढिलाइ हुने गरेको छ । देशको विषम परिस्थिति, कानुनी जटिलता ,समयमै बजेटको उपलब्धता,काम गर्ने कर्मचारीको कार्यदक्षता, स्थानीयको विकासप्रतिको अपनत्व स्वीकार गर्ने बानीको विकास भयो भने समयमै काम गर्न सकिन्छ,कामले परिवर्तन ल्याउँछ, परिवर्तनले सकारात्मक प्रवाह ल्याउँछ भन्ने लाग्दछ ।
नीतिगत रुपमा सुधार गर्नुपर्ने कुनै विषय देख्नुभएको छ ?
संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रको बारेमा कतिपय अस्पष्टता रहेको साथै संघीय कानुनसँग कतिपय काननुनहरु बाझिएका छन तिनीहरुलाई समयमै संसोधन गर्नुपर्ने हुन्छ । अहिले बिद्यमान तीन तहको सरकारमा संघियता हाम्रो देशले धान्न सक्ने स्थिति हो वा होइन यसतर्फ बिचार गर्नुपर्ने देखिन्छ । संघ र स्थानीय तह गरि दुई तहको मात्र संरचना आवश्यक छ, यसलाई सुधार गर्नुपर्ने देख्छु । त्यस्तै स्थानीय तहको क्षेत्राधिकार सम्बन्धमा थप स्पष्ट भई आवश्यक ऐन, नियम निर्माण गरिनु आवश्यक छ ।
स्थानीय जनप्रतिनिधि विकास निर्माणमा गुटगत, परिवारगत र आर्थिक लाभमा लागे भन्ने आम आलोचनाप्रति तपाईंको टिप्पणी ?
अन्नपूर्ण गाउँपालिकामा बहुदलगत जनप्रतिनिधिको छनौट भएको छ । सबै निर्णय सर्बसम्मतको आधारमा हुने गरेको छ । सबै दलको सहअस्तित्व छ । कुनै पनि दलगत बिचारले निर्णय हुन नसकेर बाँकी रहेको कुनै बिषय छैन । मलाई लाग्छ, नेतृत्वको इच्छाशक्ति समन्वयको हिसाबले यि कुराहरु निर्धारण हुने गर्छ । हाम्रो पालिकामा यस्तो कुनै गुन्जायस छैन । मलाई लाग्छ, हाम्रो पालिकामा कुनै पनि जनप्रतिनिधि ठेक्कापट्टामा संलग्न हुनु भएको छैन । मेरो कार्यकालको किताब पल्टाएर हेर्नुभयो भने गाउँपालिकाको अध्यक्षको हैसियतले गर्नुपर्ने काम बाहेक कुनै संलग्नता रहेको छैन । र, कुनै जनप्रतिनिधिले हाम्रो पालिकामा गलत काम गरेको भन्ने मलाई लाग्दैन ।
मिडिया सहकार्यमा स्थानीय सरकार कति सफल देख्नुहुन्छ ?
सञ्चार जगत राज्यको चौथो अंग हो । स्थानीय तहमा भए गरेका असल कामको ऐना हो, पृष्ठपोषणका लागि पहरेदार हो भन्ने ठानेको छु । सबै कार्यपालिका, गाउँसभा सञ्चारकर्मीका माझमा राख्ने परीपाटीको शुरुवात गरेको छु । गाउँपालिकाको वेबसाइट नियमित अध्यावधिक गर्ने ब्यबस्था मिलाएको छु । भएका तथ्यांक र कागजात वेबसाइट मार्फत सार्वजनिक गर्ने ब्यबस्था गरेको छु । जनताको गुनासो सुनुवाई तथा सूचना सार्वजनिक गर्न सामाजिक संजाल लगायतका माध्यम प्रयोग गर्ने तथा तत्काल गुनासो सुनुवाई गर्ने ब्यबस्था मिलाएको छु । गण्डकी प्रदेशमा मिडियामा सबै भन्दा धेरै अन्नपूर्ण गाउँपालिकाको गतिबिधि प्रकाशन हुने गरेको पाउँदा थप सहकार्य प्रष्ट हुन्छ । सबै सञ्चारकर्मीप्रति म आभारी छु । छापा र विद्युतीय माध्यमबाट धेरै सकारात्मक कुरा जनतासम्म आउने गरेका छन् । कार्य व्यस्तताले कहीं कतै त्यस्तो पर्न गएको भए अझ सञ्चारमाध्यमममा आउने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।
प्रस्तुति: टंकराज अधिकारी





















