पुम्दीकोट विशाल महादेव मूर्ति तथा मन्दिर निर्माणको अधुरा कार्य पूरा गर्न शिवमहापुराण लगाईने
- January 7, 2022
- 1593

पोखरा भ्यूज । पोखराको प्रमुख पर्यटकीय गन्तव्य स्थल पुम्दीकोट विशाल महादेव मूर्ति तथा मन्दिर निर्माणको काम पूरा गर्न पुम्दीकोट विकास समितिले शिवमहापुराण आयोजना गर्ने भएको छ ।
पुम्दीकोट विकास समितिले बुधवार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत मन्दिरको थप निर्माणकार्यका लागि कार्यक्रमहरू समेत सार्वजनिक गरेको छ ।
समितिले अधुरा कार्य पूरा गर्न आर्थिक संकलनार्थ पुन: महापुराण गर्न लागेको पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए । निर्माण सुरुआत अघि पनि त्यस ठाउँमा ज्ञानमहायज्ञ भएको थियो ।

मन्दिरको थप संरचना निर्माण गर्नका लागि माघ ८ देखि १८ गतेसम्म शिव महापुराण एवं धार्मिक पर्यटनमहोत्सव आयोजना गरिएको हो । मूर्ति तथा मन्दिर निर्माणलगायत बृहत कार्ययोजना सम्पन्न गर्न सुरुआतमा २० करोड लाग्ने अनुमान गरिएकोमा हाल लागत बढेर दोब्बर पुगेको पत्रकार सम्मेलनमा मार्फ़त अध्यक्ष बरालले जानकारी गराए । हालसम्म ५० प्रतिशत काम सकिएकोमा सुमेरु पर्वत निर्माण, गणेश परिक्रमा, मोनोरेल निर्माणलगायत कार्यक्रम जोड्दा लागत बढेर ४० करोड पुगेको बताए ।
शिवपुराण महायज्ञमा मुख्य वाचकको रुपमा भागवत भाष्कर कमलनयन गौतम रहने महायज्ञका दाताबाट प्राप्त दान रकमको स्तम्भ शिलालेख निर्माणसमेत गरिने अध्यक्ष बरालले बताए ।
पुम्दीकोटमा विशाल शिवमूर्ती लगायत संरचना निर्माण गर्दा २० करोड रुपैयाँ खर्च भएको र करिब १७ करोडरुपैयाँ आर्थिक सहयोग संकलन भएको थियो । बाँकी नपुग रकम भुक्तानी गर्न समितिका सदस्यहरुका घर जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखिएको पनि समितिले जनाएको छ ।
अब हुने महायज्ञबाट १० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । संकलित रकमले यसअघिका ऋणचुक्ता गरेर बाँकी रहेको रकमले विभिन्न संरचना थप्ने योजना रहेको अध्यक्ष बरालले जानकारी दिए । पुम्दीकोटमा ५१ फिट अग्लो महादेवको विशाल मुर्ती स्थापना, ३१ फिट उचाइको विशाल डम्मरु निर्माण गरिएको छ ।
अध्यक्ष बरालका अनुसार महादेवको विशाल क्षेत्र कुण्ड (गङ्गा पोखरी) तेश्रो आखा १०८ धारा जडानसहित, शिव ताण्डव नृत्य तथा अन्तर्राष्ट्रिय ध्यान केन्द्र निर्माण, २१६ शिवलिंग स्थापना, १०८ स्वर्गद्वारी सिंढी निर्माण, सुविधा सम्पन्न शौचालयसहितको प्रशासकीय भवन निर्माण, ४१ वटा फूलमाला विक्री कक्ष रहने सटर, मुर्तीपरिसरमा कम्पाउड वाल निर्माण, २०० मिटर पहुँचको पक्की मार्ग निर्माण, मनोरेलद्वारा गणेश परिक्रमालगायतको भौतिक संरचना निर्माण गरिएको छ ।
पुम्दीकोटमा संरचना निर्माण भएर सञ्चालनमा आएसंगै आन्तरिक तथा वाह्य पर्यटकको घुँइचो लाग्ने गरेको छ। एकै दिनमा ७ हजारसम्म पर्यटक पुम्दीकोट पुगेको र आगामी दिनमा त्यहाँ पुगेका पर्यटकलाई एक रात राख्नसकिने गरि योजना अघि बढाइएको समितिले जनाएको छ ।





























