पोखरामा सहकारी घोटाला : अध्यक्षसहित सात जना पक्राउ, ८८ करोड ७० लाख रुपैयाँ हिनामिना आरोप
- November 5, 2025
- 819

पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्थाको करिब ८८ करोड ७० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा संस्थाका अध्यक्षसहित सात जना पक्राउ परेका छन्। कास्की प्रहरीले बुधबार बिहान उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ।
पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, उपाध्यक्ष शम्भुराज बास्तोला, सचिव दिलबहादुर केसी खत्री, कोषाध्यक्ष तथा ऋण संयोजक हिरामणि दाहाल, पूर्वसचिव ईन्द्रप्रसाद द्वा र सञ्चालक समिति सदस्य दोर्जे तामाङ रहेका छन्।
प्रहरीका अनुसार सहकारीको ठूलो रकम अनियमित ढंगले दुरुपयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आरोपितहरूले संस्थाको कोषबाट रकम हिनामिना र दुरुपयोग गरेको भन्ने उजुरीका आधारमा प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेका सातै जनामाथि जिल्ला अदालत कास्कीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाबारे आवश्यक कागजात संकलन र रकमको चलखेलबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।






सम्बन्धित खवर
















