
पोखरा, १० वैशाख। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शान्ति सुरक्षा कायम राख्न र विपद् व्यवस्थापनमा सुरक्षाकर्मीहरूले खेलेको भूमिका उल्लेखनीय र प्रशंसनीय रहेको बताएका छन्। गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रअन्तर्गतका नवनिर्मित भवनहरूको आज पोखरामा उद्घाटन गर्दै उनले प्रहरी संगठन राज्य र नागरिक सुरक्षाको मेरुदण्ड भएको स्पष्ट पारे।
मुख्यमन्त्री पाण्डेले प्रत्येक घटनामा राज्यको प्रतिनिधिका रूपमा पहिलो उपस्थित हुने सुरक्षा निकायलाई अझ सक्षम, प्रविधिमैत्री र साधन–स्रोत सम्पन्न बनाउन सरकारले थप लगानी गर्नुपर्ने आवश्यकता औंल्याए। उनले संविधानअनुसार प्रदेश सरकारले आफ्नो जिम्मेवारी बोध गर्दै विसं २०७५ सालमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको भौतिक पूर्वाधार निर्माण सुरु गरेको स्मरण गराए।
उनका अनुसार प्रदेश सरकारले उच्च प्राथमिकतामा राखी चालु आर्थिक वर्षसम्म आवश्यक बजेट विनियोजन गरेपछि भवन निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको हो। नवनिर्मित संरचनामा कार्यालय भवन, ब्यारेक, क्वाटर गार्ड, वरिष्ठ अधिकृतका निवास तथा मेस भवन समावेश छन्, जसले प्रहरी संगठनको सीप, दक्षता र कार्यक्षमता अभिवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
“यो तालिम केन्द्रले समयानुकूल प्रशिक्षण प्रणालीमार्फत तालिमको गुणस्तर अभिवृद्धि गर्दै पेशागत ज्ञान, सीप र दक्षतायुक्त सक्षम प्रहरी जनशक्ति उत्पादन गर्नेछ,” मुख्यमन्त्री पाण्डेले भने।
उनले अपराध नियन्त्रण, अनुसन्धान तथा विपद् उद्धार कार्यमा आधुनिक प्रविधि र नवीन प्रक्रियाको प्रयोग गर्ने क्षमता विकासमा पनि केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने बताए।
प्रदेश सरकार स्थापना भएयता गण्डकी प्रदेशमा निर्माण सुरु भएका ३५ प्रहरी युनिटमध्ये ३४ वटा भवन सम्पन्न भइसकेका छन् भने एउटा अन्तिम चरणमा रहेको जानकारी दिँदै उनले सीमित स्रोतका बाबजुद शान्ति सुरक्षा क्षेत्रमा सरकारले प्राथमिकता दिँदै आएको उल्लेख गरे। उनका अनुसार प्रत्येक वर्ष करिब १५ करोड रुपैयाँभन्दा बढी बजेट सुरक्षा निकायका लागि विनियोजन हुँदै आएको छ।
यद्यपि, प्रहरी समायोजन प्रक्रिया पूर्ण नहुँदा प्रदेशबाट विनियोजित बजेट कार्यान्वयनमा केही प्रशासनिक जटिलता देखिएको उनले स्वीकार गरे।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक जनार्दन जिसीले प्रदेश सरकारको सहयोगमा निर्माण भएका संरचनाले सेवा प्रवाहलाई अझ सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
प्राविधिक प्रहरी नायब उपरीक्षक इ. चिरञ्जिवी महतोका अनुसार कार्यालय भवन, समादेशक निवास तथा वरिष्ठ अधिकृत क्वाटर निर्माणमा मूल्य अभिवृद्धि करसहित ६ करोड ४६ लाख १२ हजार ३२७ रुपैयाँ खर्च भएको छ। त्यसैगरी दुईवटा ब्यारेक, दुईवटा मेस तथा क्वाटर गार्ड निर्माणमा ६ करोड ५५ लाख ४५ हजार ७१६ रुपैयाँ व्यय भएको जानकारी दिइयो।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले सीमित स्रोतका बाबजुद सेवा प्रवाह भइरहेको सन्दर्भमा नयाँ पूर्वाधारले प्रहरी कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।





सम्बन्धित खवर














