सदस्यता विस्तार र सेवा प्रभावकारितामाथि व्यापक छलफल गर्दै दोस्रो जोन बैठक सम्पन्न
- November 20, 2025
- 1800

पोखरा। लायन्स अन्तर्राष्ट्रिय सदस्यमा आधारित विश्वव्यापी मानवसेवी संस्था भएकाले सदस्यता विस्तारलाई आजको मुख्य आवश्यकता मान्दै लायन्स क्लबहरूबीच दोस्रो जोन बैठक सम्पन्न भएको छ। डिष्ट्रिक्ट ३२५ आई नेपाल एरिया–१०, रिजन–२२, जोन–५१ अन्तर्गतका क्लबहरूको दोस्रो जोन बैठक जोन चेयरपर्सन सन्तोष भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
पोखरा चिप्लेढुंगा ट्रेड मलस्थित क्लासिक चुल्होमा बिहीबार सम्पन्न भएको बैठकको उद्देश्य क्लबहरूको प्रगतिमूलक गतिविधिको समीक्षा, उपलब्धिको मूल्यांकन र आगामी योजनाको प्रभावकारी कार्यान्वयनका उपाय तय गर्नु रहेको जोन चेयर पर्सन सन्तोष भण्डारीले बताए।
बैठकमा अहिलेसम्म क्लबहरूले सञ्चालन गरेका सेवा कार्यक्रमहरूको समग्र मूल्यांकनसँगै सदस्यता वृद्धि, नयाँ सदस्य पहिचान, सदस्य संरक्षण, तथा सदस्य सन्तुष्टिको रणनीति विषयमा विस्तृत छलफल भयो। साथै नयाँ क्लब स्थापना, क्लबहरूको आर्थिक व्यवस्थापन, पारदर्शिता, तथा आर्थिक संकलनका व्यवहारिक उपायहरू पनि बैठकका प्रमुख विषय बनेका थिए ।
लायन्स अन्तर्राष्ट्रियले अघि सारेको १.५ मिलियन सदस्यता अभियानलाई सफल बनाउने उद्देश्य अनुरूप नियमित अभिमुखीकरण, प्रभावकारी प्रशिक्षण, सशक्त संचार तथा आकर्षक सेवा परियोजनाको आवश्यकताबारे सहभागीहरूले विशेष जोड दिएका थिए ।
यसै गरी नेतृत्व विकास, सेवा विस्तार, मधुमेह सचेतना, युवा क्षमतावृद्धि तथा महिला सशक्तिकरण जस्ता अभियानमा क्लबहरूले प्राप्त गरेका उपलब्धिहरूको आदानप्रदान गर्दै आगामी चुनौती तथा समाधानका उपायहरूबारे व्यापक छलफल गरिएको थियो।
बैठकमा लायन्स क्लब अफ पोखरा गुडविलका अध्यक्ष राजेन्द्र शर्मा, लायन्स क्लब अफ पोखरा जननीका अध्यक्ष लक्ष्मी पोखरेल तथा सचिव दिप शर्माले आफ्ना क्लबले हालसम्म सम्पन्न गरेको कार्य तथा आगामी योजनाबारे प्रस्तुति दिएका थिए।
बैठकमा डिष्ट्रिक्ट एड्मिनिस्ट्रेटर टंकराज अधिकारी, डिष्ट्रिक्ट को–अर्डिनेटर बिष्णु श्रेष्ठ, एरिया को–अर्डिनेटर मेनका श्रेष्ठ, रिजन चेयरपर्सन बद्रिका ढुंगाना तथा डिष्ट्रिक्ट अफिसर इन्दु कोइरालालगायतका वक्ताहरूले विभिन्न विषयमा मन्तव्य राखेका थिए।













