1Shares

लेखनाथ । कवि शिरोमणि लेखनाथ पौड्यालको साहित्यिक योगदानको स्मरण गर्दै लेखनाथ महोत्सव अन्तर्गत शनिबार अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ।

नेपाल संस्कृत विश्वविद्यालयबाट ‘लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन’ शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त गरेका डाक्टर बोधराज ढकाललाई उक्त अवसरमा अभिनन्दन गरिएको हो। आँधीखोला–६, स्याङ्जामा जन्मिएका ढकाल हाल पोखरा–८, सिमलचौरमा बसोबास गर्दै आएका छन्। उनी त्रिभुवन विश्वविद्यालयअन्तर्गत पृथ्वीनारायण क्याम्पसमा नेपाली वाङ्मयका विविध विधा अध्यापनसँगै अनुसन्धान, समीक्षात्मक कृति प्रकाशन तथा शोध निर्देशनमा क्रियाशील छन्।    

कार्यक्रममा बोल्दै साहित्यकार तथा संस्कृतिविद् प्राध्यापक डा. कुशुमाकर न्यौपानेले नेपाली भाषा र साहित्यमा ढकालले पुर्‍याएको योगदानको कदर गरिएकोमा खुशी व्यक्त गरे। लेखनाथ महोत्सव २०८२ तथा कवि शिरोमणिको १४२औँ जन्मजयन्तीका अवसरमा अभिनन्दन पत्र अर्पण गर्न पाउँदा गौरव अनुभूति भएको मूल संयोजक जानुका अधिकारीले बताइन्।

साहित्यिक उप–समिति संयोजक कृष्णप्रसाद ढुङ्गानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष तथा उप–समिति सदस्य विष्णुहरि पौडेलले स्वागत मन्तव्य राखेका थिए भने पोखरा साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष पदमराज ढकालले स्रष्टा परिचय गराएका थिए। कार्यक्रममा कवि शिरोमणि लेखनाथ पौड्यालका कविता वाचन पनि गरिएको थियो।

अभिनन्दित स्रष्टा डा. बोधराज ढकालले प्राप्त सम्मानले आफूलाई थप सृजनशील बन्न प्रेरणा मिलेको प्रतिक्रिया दिए। कार्यक्रममा संघका पूर्व अध्यक्ष छत्रधर आत्रेय, संस्कृत क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख प्रा. डा. जगन्नाथ रेग्मीलगायत वक्ताले कवि शिरोमणिको साहित्यिक योगदान स्मरण गरेका थिए।

उक्त अवसरमा कवि लेखनाथसँग सम्बन्धित प्रश्नोत्तर प्रतियोगितामा सहभागी भई सही उत्तर दिने सात जनालाई जनही एक हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो। महोत्सवका अन्य नियमित कार्यक्रमहरू यथावत् रूपमा सञ्चालन भइरहेका छन्।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected