0Shares

पोखरा । नेपाली कांग्रेसकी १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य लक्ष्मी पाण्डेले पार्टीको सुदृढीकरण र एकबद्धता अभियान वडा तहबाटै सुरु गर्नुपर्ने बताएकी छन्।

नेपाली कांग्रेस पोखरा महानगरपालिका–१६ वडा कार्यसमितिले शुक्रबार विजयादशमी, दीपावली, छठ तथा नेपाल संवत्का अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ पाण्डेले पार्टीको संगठन निर्माण र आन्तरिक एकतामा जोड दिएकी हुन्।

“मैले १५औँ महाधिवेशनमा अन्य जिल्लाका महाधिवेशन प्रतिनिधिहरूबीच कार्यगत एकता देखेँ, तर कास्की कांग्रेसमा त्यस्तो एकता देखिनँ,” उनले भनिन्, “अब कास्कीमा एकताको अभियान आफ्नै वडा नं. १६ बाट सुरु गर्नेछु।”

पाण्डेले पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एकजुट भएर संगठन निर्माणमा लाग्नुपर्ने धारणा व्यक्त गरिन्। उनले पार्टीभित्र आपसी सहकार्य, समन्वय र एकताको वातावरण निर्माण गर्न वडा तहबाटै पहल गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा १५औँ महाधिवेशनबाट विभिन्न तहमा निर्वाचित पदाधिकारी, महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय, प्रदेश र नगर समितिमा निर्वाचित सदस्यहरूलाई सम्मान गरिएको थियो।

नेपाली कांग्रेस पोखरा–१६ का वडा सभापति होमबहादुर बानियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. २, प्रदेश सभा (ख) का नवनिर्वाचित सभापति अमृत शर्मा तिमिल्सिना, महाधिवेशन प्रतिनिधि मदन बस्नेत, नेकपा एमाले पोखरा–१६ का अध्यक्ष यमनकाजी गुरुङ, नेपाली कांग्रेस पोखरा–१६ का उपसभापति बलराम आचार्य, सचिव देवबहादुर थापा ‘शंकर’ तथा क्षेत्रीय प्रतिनिधि इशान बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected