जनप्रिय क्याम्पसमा १० किलोमिटर खुला दौड प्रतियोगिता हुँदै, ४५० धावकको सहभागिता सुनिश्चित
- October 15, 2026
- 126

पोखरा, २९ असोज। स्वस्थ जीवनशैलीको प्रवर्द्धन, शारीरिक व्यायामप्रति जनचेतना अभिवृद्धि तथा सामाजिक सेवाको उद्देश्यसहित पोखरामा १० किलोमिटर खुला दौड प्रतियोगिता आयोजना हुने भएको छ। जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजना तथा एनवाईसी रत्नचोकको सह–आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
प्रतियोगितामा महिला तथा पुरुष गरी हालसम्म ४५० जना धावकले नाम दर्ता गराइसकेको सह–आयोजक एनवाईसी रत्नचोकका अध्यक्ष आशिक गुरुङले जानकारी दिए।
प्रतियोगिता रत्नचोकबाट सुरु भई सिर्जनाचोक, जिरो किमि, हल्लनचोक, खहरे, लेखनाथचोक, बाराही मन्दिर, शहीदचोक, राष्ट्रबैंकचोक, ड्यामसाइड, बिरौटा र मुस्ताङचोक हुँदै हर्कसिंह चोकमा पुगेर सम्पन्न हुनेछ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। पुरस्कारसँगै विजेता धावकलाई मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ। दौड सफलतापूर्वक पूरा गर्ने सबै सहभागीलाई मेडल प्रदान गरिनेछ।
प्रतियोगिता केवल खेलकुदमा सीमित नरही नागरिकलाई दैनिक जीवनमा व्यायाम समावेश गर्न प्रेरित गर्ने र स्वस्थ जीवनशैली अपनाउने सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख कृष्णबाबु बरालले बताए।
नियमित दौड तथा व्यायामले शारीरिक र मानसिक स्वास्थ्य सुदृढ बनाउन, तनाव व्यवस्थापन गर्न र जीवनलाई सक्रिय बनाउन सहयोग पुर्याउने भएकाले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको उनको भनाइ छ।
प्रतियोगिताबाट बचत हुने रकम एनवाईसी रत्नचोकका युवामार्फत टोल विकासका गतिविधिमा खर्च गरिनेछ भने जनप्रिय बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नसमेत उपयोग गरिने अध्यक्ष गुरुङले जानकारी दिए।
एनवाईसी रत्नचोक र जनप्रिय बहुमुखी क्याम्पसबीच एक दशकअघि नै सहकार्यसम्बन्धी सम्झौता भएको थियो। उक्त सहकार्यअन्तर्गत एनवाईसीले हालसम्म २५ जना विद्यार्थीलाई क्याम्पसमा स्नातक तहको अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ।
स्थानीय युवाहरूको पहलमा स्थापित एनवाईसी रत्नचोक सामाजिक सेवामा सक्रिय संस्था हो भने स्थानीय शिक्षाप्रेमी, समाजसेवी तथा विभिन्न संघसंस्थाको योगदानमा स्थापित जनप्रिय बहुमुखी क्याम्पस गैरनाफामूलक उच्च शैक्षिक संस्था हो। दुवै संस्थाले सहकार्यमा विभिन्न सामाजिक तथा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएका छन्।
यसैबीच, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका छन्। खेलकुद तथा सामाजिक गतिविधिले युवालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले आयोजकलाई कार्यक्रम सफलताको शुभकामना दिएका छन्।













