
विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
पोखरा। गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले जातीय विभेदको अन्त्य गरी समानता र सामाजिक न्याय स्थापित गर्न सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन्।
विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय, कास्कीले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै गुरुङले संविधान र कानुनमा जातीय विभेद अन्त्यका लागि पर्याप्त व्यवस्था भए पनि व्यवहारमा त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको बताइन्। समाजमा जरा गाडेर बसेको विभेदकारी सोच, व्यवहार र संस्कार परिवर्तन गर्न सामूहिक प्रयास र सचेतना आवश्यक रहेको उनको भनाइ थियो।
समाजको आफ्नै भवन, अलकापुर, रामबजारस्थित सभाहलमा आयोजित कार्यक्रममा गुरुङले नवदुर्गाका अवसरमा देवीको तस्बिर तथा पोस्टरमा पूजा गर्ने, तर आफ्नै समाजका महिलालाई दलित, जनजाति, मधेसी, कर्णालीवासी तथा पछाडि पारिएका वर्गका नाममा विभिन्न प्रकारले अपमानित गर्ने प्रवृत्ति कायम रहनु विडम्बनापूर्ण भएको बताइन्। यस्तो विरोधाभासपूर्ण अवस्थाको अन्त्य गर्न सबैले आफ्नो सोच र व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा उनले जोड दिइन्।
कार्यक्रमका विशिष्ट अतिथि डा. दिनेश विश्वकर्माले विजयादशमीलाई असत्यमाथि सत्यको विजय र अन्यायमाथि न्यायको जितका रूपमा मनाइने भए पनि नेपाली समाजमा जातीय विभेद कायम रहनुले गम्भीर प्रश्न खडा गरेको बताए।
“के साँच्चिकै असत्यमाथि सत्यको विजय भएको छ? के अन्यायमाथि न्यायको जित भएको छ? के जातीय विभेद सहन बाध्य समुदायले त्यसको वास्तविक अनुभूति गर्न पाएका छन्?” भन्दै उनले चाडपर्वका सन्देश र समाजको यथार्थबीचको विरोधाभास औँल्याए।
चाडपर्वले सत्य, न्याय र समानताको सन्देश दिने भए पनि जातकै आधारमा विभेद, अपमान र अन्याय सहनुपर्ने अवस्था रहिरहनु दुःखद भएको उनको भनाइ थियो। विभेद भोगिरहेका समुदायले वास्तविक समानता र न्यायको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्न जातीय विभेदको प्रभावकारी अन्त्य आवश्यक रहेको उनले बताए।
कार्यक्रमका अर्का विशिष्ट अतिथि पोखरा महानगरपालिका वडा नं. १५ की वडा सदस्य मन्दिरा परियारले दलित समुदायको हकहित र अधिकार सुनिश्चित गर्न समाजका सबै वर्गको सोच र विचारमा सकारात्मक परिवर्तन आउनुपर्ने बताइन्। समानता, सम्मान र सामाजिक न्याय स्थापित गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा उनले जोड दिइन्।
कार्यक्रममा अतिथिका रूपमा उपस्थित वरिष्ठ पत्रकार कुसुम केशव पराजुलीले चाडपर्व आफ्नो आर्थिक अवस्था र गच्छेअनुसार मनाउन आग्रह गरे। चाडपर्वका नाममा अनावश्यक तडकभडक र फजुल खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने उनको भनाइ थियो।
विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय, कास्कीका अध्यक्ष बेलबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजकी महिला समिति अध्यक्ष कमला सुनारले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव लालबहादुर घतानेले कार्यक्रम सञ्चालन गरेका थिए।
शुभकामना आदानप्रदान कार्यक्रममा पोखराका उद्योगी, व्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मी, कर्मचारी, समाजका सदस्य तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।
चाडपर्वको शुभकामना आदानप्रदानसँगै जातीय विभेदको अन्त्य, सामाजिक न्याय, समानता र आपसी सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित कार्यक्रमले सबै नागरिकले समान सम्मान र अधिकार पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको थियो। सत्य र न्यायको विजयको प्रतीकका रूपमा मनाइने चाडपर्वलाई व्यवहारमै सार्थक बनाउन समाजमा विद्यमान विभेदकारी सोच र व्यवहारको अन्त्य गर्नुपर्ने सन्देशसमेत कार्यक्रममा व्यक्त गरिएको थियो।













