2Shares

पोखरा। नेपालमा उच्च शिक्षाको रूपान्तरण र विश्व प्रतिस्पर्धात्मक क्षमताको विकासलाई केन्द्रमा राखेर पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ। विश्वविद्यालय अनुदान आयोग (UGC) नेपालको विशेष सहयोगमा जनप्रिय बहुमुखी क्याम्पस, पोखराको आयोजनामा यही २०८२ चैत १२, १३ र १४ गते (मार्च २५–२७, २०२६) सम्मेलन हुने घोषणा गरिएको हो।

“नेपालमा उच्च शिक्षाको रूपान्तरण: विश्व प्रतिस्पर्धात्मकताका मार्गहरू” (Transforming Higher Education in Nepal: Pathways to Global Competitiveness) विषयक सम्मेलनमा नेपालसहित भारत, चीन, थाइल्याण्ड र बंगलादेशका ख्यातिप्राप्त शिक्षाविद् तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहनेछ। सम्मेलनमा सहभागी विज्ञहरूले उच्च शिक्षामा विद्यमान संरचनागत चुनौती, शैक्षिक गुणस्तर, बजार सान्दर्भिकता, तथा विद्यार्थी पलायन (ब्रेन ड्रेन) जस्ता विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

आयोजकका अनुसार सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानकर्ताबाट ५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत गरिनेछ। ती कार्यपत्रहरूमा गुणस्तर प्रत्यायन, डिजिटल रूपान्तरण, शैक्षिक सुशासन, संस्थागत स्वायत्तता तथा दिगो विकास लक्ष्य (SDGs) जस्ता समसामयिक र नीतिगत महत्वका विषय समेटिने छन्।

सम्मेलनका क्रममा उच्च शिक्षाको नीतिगत सुधार र अनुसन्धान प्रवर्द्धनका विषयमा दुईवटा उच्चस्तरीय प्यानल छलफल समेत सञ्चालन गरिनेछ। ती छलफलबाट प्राप्त निष्कर्षले विश्वविद्यालय, नीति निर्माण तह तथा शैक्षिक नेतृत्वलाई भविष्यको रणनीति तय गर्न महत्वपूर्ण मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

नेपाल सरकार, शिक्षा मन्त्रालयबाट २०७२ र २०७३ सालमा उत्कृष्ट सामुदायिक क्याम्पसका रूपमा पुरस्कृत तथा विश्वविद्यालय अनुदान आयोगबाट दुई पटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्रमाणपत्र प्राप्त जनप्रिय बहुमुखी क्याम्पसले यस सम्मेलनमार्फत पोखरालाई प्राज्ञिक तथा अनुसन्धानको केन्द्रका रूपमा ब्रान्डिङ गर्ने लक्ष्य लिएको जनाएको छ।

सम्मेलनले कक्षा कोठामा सीमित शिक्षण पद्धतिभन्दा बाहिर निस्केर अनुसन्धानमुखी, प्रविधिमैत्री र उत्पादनसँग जोडिएको उच्च शिक्षा प्रणाली विकास गर्न टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected