34Shares

पोखरा। नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार माधवप्रसाद बाँस्तोलाले बदलिँदो समय र पुस्ताको चाहनाअनुसार नेपाली काँग्रेस पार्टीले आफूलाई रूपान्तरण गर्दै देशमा सुशासन र समृद्धिका लागि इमान्दार प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

पोखरा महानगरपालिका–१६ स्थित बाटुलेचौरमा आइतबार आयोजित एक कार्यक्रमबीच नेपाली काँग्रेसको चुनाव प्रचार–प्रसार सम्पर्क कार्यालय उद्घाटन गर्दै उम्मेदवार बाँस्तोलाले लामो इतिहास बोकेको काँग्रेस पार्टीले वर्तमान ‘जेन्जी’ (नयाँ पुस्ता) का माग, भावना र अपेक्षालाई गम्भीरतापूर्वक सुन्ने र तिनको सम्बोधन गर्दै सबैलाई साथमा लिएर अगाडि बढ्ने स्पष्ट पारे।

उनले देश इतिहासकै कठिन मोडमा पुगेको उल्लेख गर्दै राणा शासनको अन्त्य, प्रजातन्त्र स्थापनादेखि नयाँ संविधान निर्माणसम्मका प्रत्येक निर्णायक क्षणमा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताए। “आज देश रहने कि नरहने भन्ने अवस्थासम्म आइपुगेको छ,” बाँस्तोलाले भने, “यस्तो संकटको घडीमा पनि देशलाई सुरक्षित र सही दिशामा लैजाने जिम्मेवारी नेपाली काँग्रेसले नै लिनेछ।”

लोकतन्त्र, व्यक्तिगत स्वतन्त्रता, स्वतन्त्र प्रेस र स्वतन्त्र न्यायपालिकाप्रति काँग्रेसको अटुट विश्वास रहेको उल्लेख गर्दै उनले सामाजिक सञ्जाल बन्द गर्ने कुनै सोच काँग्रेसको नभएको स्पष्ट पारे। “सूचना प्रविधिले विश्वलाई सानो बनाइसकेको समयमा सामाजिक सञ्जाल बन्द गर्ने कल्पना काँग्रेसले गर्नै सक्दैन,” उनले भने।

सुशासनप्रतिको काँग्रेसको प्रतिबद्धता स्मरण गराउँदै बाँस्तोलाले वि.सं. २०४६ पछि पनि भ्रष्टाचारमा संलग्न आफ्नै मन्त्रीहरूमाथि कारबाही गरिएको इतिहास रहेको उल्लेख गरे। “कानूनभन्दा माथि कोही छैन भन्ने अभ्यास काँग्रेसले गरेर देखाएको छ,” उनको भनाइ थियो।

पोखरा–१६ लाई कास्कीको राजनीतिक उर्वरभूमि र राजनीतिक चेतनाको आधार क्षेत्रको रूपमा चित्रण गर्दै उनले यहाँको पर्यटन प्रवर्द्धन, विकास पूर्वाधार विस्तार, गुफा संरक्षण, सडक सुधार तथा काली खोला नियन्त्रणलगायतका क्षेत्रमा विशेष पहल गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा उनले स्थानीय मतदातासँग सुझाव संकलन गर्दै मत माग्ने कार्य पनि गरेका थिए।

यता प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली काँग्रेस कास्कीले तीनवटै निर्वाचन क्षेत्रमा आफ्ना चुनावी गतिविधिलाई तीव्र बनाएको छ। मत माग्ने अभियानसँगै मतदाता सुझाव संकलन, सम्पर्क कार्यालय स्थापना र मतदाता शिक्षालाई पनि प्राथमिकतामा राखिएको देखिन्छ।

यसै क्रममा नेपाली काँग्रेस कास्की क्षेत्र नं. २ चुनाव प्रचार–प्रसार समितिले पोखरा–१६ मा नयाँ सम्पर्क कार्यालय स्थापना गरेको हो। कार्यालय उद्घाटन कार्यक्रममा कास्की क्षेत्र नं. २ का सभापति तथा चुनावी कमाण्डर केशव निर्दोषी, महाधिवेशन प्रतिनिधि लक्ष्मी पाण्डे र मदन बस्नेत, काँग्रेसका जेष्ठ सदस्य मुक्तिराम भट्टराई, युवा नेता विजय सापकोटा, पोखरा–१६ का कार्यवाहक सभापति मिनबहादुर गुरुङ, सचिव बलराम आचार्यलगायतका वक्ताहरूले चुनावी रणनीति, संगठन सुदृढीकरण र मतदाता शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

चुनाव प्रचार–प्रसार समितिका अनुसार यस क्षेत्रअन्तर्गतका ११ वडामध्ये वडा नं. २१, ४, ९, ११, २०, ७ र १५ मा यसअघि नै सम्पर्क कार्यालय स्थापना भइसकेको छ। बाँकी वडामध्ये वडा नं. १७ मा सोमबार र वडा नं. ३३ मा माघ २९ गते बिहीबार सम्पर्क कार्यालय उद्घाटन गर्ने कार्यतालिका रहेको छ।

34Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected