
पोखरा। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट कास्की क्षेत्र नं. २ का उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) ले युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
मंगलबार पोखरा–१६ मा आयोजित घरदैलो कार्यक्रमअन्तर्गत वाटुलेचौरको मैदानमा सम्पन्न चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले युवाको विदेश पलायनले गाउँ बस्ती सुनसान बन्दै गएको उल्लेख गरे। “युवालाई लक्षित रोजगारीका अवसर सिर्जना गर्ने हो भने उनीहरू विदेशिनु पर्दैनथ्यो, गाउँ शून्य हुँदैनथ्यो,” उनले भने, “नेपालको युवा जनशक्ति विदेशिँदा देशको विकासले अपेक्षित गति लिन सक्दैन।”
उनले गाउँमा व्यावसायिक कृषिको विकासका लागि युवालाई अनुदान तथा सहुलियत कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याए। उत्पादनमुखी कार्यक्रममार्फत युवालाई आत्मनिर्भर बनाउने योजना आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ थियो।
शिक्षा क्षेत्रमा सुधार अपरिहार्य रहेको उल्लेख गर्दै बास्तोलाले व्यावसायिक शिक्षालाई प्राथमिकता दिन पाठ्यक्रममै परिवर्तन आवश्यक रहेको बताए। “अहिलेको आवश्यकता अनुसार नयाँ शिक्षा ऐन ल्याउनुपर्छ,” उनले जोड दिए।
पोखरा–१६ पर्यटकीय सम्भावनाले भरिपूर्ण वडा भएको उल्लेख गर्दै उनले त्यहाँका गन्तव्यहरूको संरक्षण र प्रवर्द्धनमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाए। गुफैगुफाको वडाका रूपमा परिचित पोखरा–१६ मा महेन्द्रगुफा, चमेरे गुफा, गोर्खा स्मृति संग्रहालय, अर्मला कोट, हरिपाउँ र कालीलेक जस्ता महत्वपूर्ण पर्यटकीय स्थल रहेको उनले बताए।
महानगरपालिका भित्रको वडा भए पनि अधिकांश भू–भाग ग्रामीण क्षेत्रअन्तर्गत पर्ने भएकाले समग्र विकासमा विशेष ध्यान दिने उनको भनाइ थियो।
घरदैलो कार्यक्रम महेन्द्रगुफा, वाटुलेचौर, मैदान, दीप, लामाचौर, चमेरे गुफा, पानीट्याँकी, बडरबोट र कुरलगायतका स्थानमा सञ्चालन गरिएको नेपाली काँग्रेसका नेता सोभियतबहादुर अधिकारीले जानकारी दिए।
कार्यक्रमका क्रममा मतदाताले सडक स्तरोन्नति, कालीखोला तटबन्द, फोहोर व्यवस्थापन, रोजगारी, उद्यमशीलता, शिक्षा र स्वास्थ्य सेवामा सुधारका माग अघि सारेका थिए।
घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका नेता सोभियतबहादुर अधिकारी, बिन्दुकुमार थापा, वीरेन्द्रनारायण विजुक्छे, ऋषि काफ्ले, केशर निर्दोषी, लक्ष्मी पाण्डे, सीता गुरुङ र तीर्थकुमारी गुरुङलगायतको सहभागिता रहेको थियो।






सम्बन्धित खवर














