0Shares

सामाजिक न्याय, दिगो विकास, पर्यटन र रोजगारीलाई केन्द्रमा राख्दै स्पष्ट कार्ययोजना सार्वजनिक

पोखरा । प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा कास्की क्षेत्र नं. ३ का उम्मेदवार मनोज गुरुङले सुशासन, सामाजिक न्याय, दिगो विकास, पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर २१ बुँदे संकल्पसहित चुनावी अभियानमा होमिएका छन्। जेन्जी आन्दोलनको मर्म र संविधानको भावना अनुरूप उत्तरदायी, पारदर्शी र परिणाममुखी शासन स्थापना गर्ने लक्ष्यसहित उनले  विस्तृत कार्ययोजना अघि सारेका छन् ।

उक्त संकल्पमा समेटिएका २१ बुँदाहरू यसप्रकार छन्—

१. प्रविधिमैत्री र पारदर्शी शासन : सरकारी सेवा प्रवाहमा प्रविधिको अधिकतम प्रयोग गरी भ्रष्टाचार न्यूनीकरण, छिटोछरितो सेवा र सुशासन संस्थागत गर्ने।

२. गुणस्तरीय र प्रविधि–आधारित शिक्षा : सार्वजनिक शिक्षामा समान पहुँच सुनिश्चित गर्दै विद्यालय तहदेखि नै सूचना–प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (AI) र मेसिन लर्निङजस्ता विषय समावेश गर्ने।

३. विशेषीकृत स्वास्थ्य सेवा विस्तार :कास्कीमा मुटु, मिर्गौला र बाल अस्पताल स्थापना तथा स्थानीय तहमा सुविधासम्पन्न अस्पताल निर्माणलाई प्राथमिकता दिने।

४. सामाजिक न्याय र लक्षित कार्यक्रम : दलित, आदिवासी, जनजाति, अपांगता भएका र विपन्न समुदायका लागि शिक्षा, स्वास्थ्य र रोजगारीमा विशेष कार्यक्रम ल्याउने।

५. कृषि, पर्यटन र साना उद्योगमार्फत रोजगारी :कृषि आधुनिकीकरण, पशुपालन, पर्यटन र घरेलु उद्योगमार्फत युवालाई रोजगारी सिर्जना गर्ने।

६. पोखरालाई पर्यटन राजधानीका रूपमा विकास : प्राकृतिक सौन्दर्य र धार्मिक सहिष्णुताको पहिचानसहित पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बनाउने।

७. पदमार्ग र हिमाली क्षेत्र संरक्षण : अन्नपूर्ण पदमार्ग, घोरेपानी–पुनहिल, मर्दी हिमाल, रुपा र बेगनास क्षेत्रको संरक्षण तथा प्रवर्द्धन गर्ने।

८. सन्तुलित शहरी विकास : पोखराको शहरी समस्यालाई सम्बोधन गर्दै ग्रामीण क्षेत्रमा ‘स्याटेलाइट सिटी’ अवधारणा लागू गर्ने।

९. भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधान:न्यायोचित र दीगो समाधानका लागि स्पष्ट नीति र कार्यक्रम ल्याउने।

१०. फोहोरमैला व्यवस्थापन र जैविक मल उत्पादन: पोखरा उपत्यकामा वैज्ञानिक फोहोर व्यवस्थापन र जैविक मल उद्योग स्थापना गर्ने।

११. फेवाताल संरक्षण: फेवातालको वैज्ञानिक व्यवस्थापन, कानुनी स्पष्टता र स्थानीय सहभागिता सुनिश्चित गर्ने।

१२. धार्मिक पर्यटन प्रवर्द्धन: विन्ध्यवासिनी, तालबाराही, सराङकोट, कालिका लगायत क्षेत्रलाई धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने।

१३. नदी कटान नियन्त्रण: नदी कटान रोक्न तटबन्ध निर्माण र जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने।

१४. संरक्षण क्षेत्र व्यवस्थापनमा स्थानीय सहभागिता: अन्नपूर्ण संरक्षण क्षेत्रका स्रोत–साधनको उपयोगमार्फत स्थानीय तहको राजस्व वृद्धि गर्ने।

१५. स्थानीय आवश्यकताअनुसार योजना तर्जुमा: जनप्रतिनिधि, बुद्धिजीवी र सरोकारवालासँग समन्वय गरी दीर्घकालीन विकास योजना निर्माण गर्ने।

१६. संघ–प्रदेश–स्थानीय तह समन्वय: पूर्वाधार विकासमा तीनै तहबीच समन्वय र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने।

१७. युवा र खेलकुद प्रवर्द्धन: प्रतिभाशाली युवालाई खेलकुद र सिर्जनात्मक क्षेत्रमा अवसर प्रदान गर्ने।

१८. भाषा र संस्कृति संरक्षण: स्थानीय भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि नीति निर्माण गर्ने।

१९. नागरिक आवाज संसदसम्म: जनताको मुद्दा र आवाजलाई प्रभावकारी रूपमा संसदमा उठाउने प्रतिबद्धता।

२०. संघीय कानुन निर्माणमा नेतृत्व: संघीय निजामती ऐन, शिक्षा ऐन, प्रहरी ऐन लगायत आवश्यक कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने।

२१. नियमित सार्वजनिक सुनुवाइ र प्रगति विवरण:जनप्रतिनिधि र जनताबीच नियमित संवाद तथा कार्यप्रगति सार्वजनिक गर्ने।

यिनै विस्तृत २१ बुँदे संकल्पमार्फत उम्मेदवार गुरुङले कास्की क्षेत्र नं. ३ लाई सुशासन, समावेशिता, दिगोपन र समृद्धिको नमुना क्षेत्र बनाउने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन् । स्थानीय विकासका आधारभूत सवालदेखि दीर्घकालीन संरचनात्मक सुधारसम्म समेटिएको यो योजना आगामी निर्वाचनको महत्वपूर्ण एजेन्डा बनेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected