पोखरामा फागुन १५ मा कांग्रेसको बृहत् चुनावी आमसभा, गगन–विश्वप्रकाशको सम्बोधन

पोखरा — नेपाली कांग्रेस कास्कीले आगामी फागुन १५ गते पोखराको अमरसिंहचौरमा बृहत् चुनावी आमसभा आयोजना गर्ने भएको छ।
सभालाई पार्टीका केन्द्रीय सभापति गगन थापा, र उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको कास्की सभापति किशोरदत्त बरालले जानकारी दिए।
आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले निर्वाचन लक्षित उक्त सभालाई “ऐतिहासिक र सन्देशमूलक” बनाउने तयारी भइरहेको बताए।

सभालाई प्रभावकारी र भव्य बनाउन कास्की कांग्रेसले तयारी तीव्र पारेको छ। पार्टी कार्यालयमा तीनवटै क्षेत्रीय समिति र तीन जना उम्मेदवारसहितको संयुक्त बैठक सम्पन्न भएको छ।
कांग्रेस नेता दिपक गुरुङ ‘माईला’को संयोजकत्वमा गठित चुनावी सभा व्यवस्थापन समितिमा माया बराल क्षेत्री, दुर्गा लामिछाने, मदन बस्नेत, पुजन थकाली, विजय गुरुङ र मेख तामाङ सदस्य रहेका छन्।
बैठकले आमसभामा व्यापक जनसहभागिता सुनिश्चित गर्न स्थानीय तहसम्म संगठन परिचालन गर्ने निर्णय गरेको छ। घरदैलो अभियान, जनसम्पर्क कार्यक्रम तथा युवा र महिला सहभागितालाई विशेष प्राथमिकता दिइने सहसचिव नविन सिग्देलले जानकारी दिए।
कांग्रेस कास्कीले आगामी निर्वाचनलाई लक्षित गर्दै आमसभामार्फत पार्टीको स्पष्ट सन्देश मतदातासम्म पुर्याउने लक्ष्य लिएको जनाएको छ।






सम्बन्धित खवर















