0Shares

पोखरा। आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ को पूर्वसन्ध्यामा निर्वाचन प्रक्रियामा सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र एल्गोरिदमले पार्न सक्ने प्रभावबारे पोखरामा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

गण्डकी प्रदेश सरकार अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रेस रजिष्ट्रार कार्यालयको आयोजनामा बुधबार समाचारमा एआई/एल्गोरिदमको प्रभाव विषयक सम्पादकबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले निर्वाचनका समयमा प्रविधिको दुरुपयोगमार्फत फैलिन सक्ने भ्रामक सूचनाले निर्वाचनको स्वच्छता र निष्पक्षतामा गम्भीर चुनौती थप्न सक्ने बताए। उनले सञ्चारमाध्यमले गेटकिपरको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिँदै निर्वाचन आचारसंहिताको पालनामा डिजिटल प्लेटफर्महरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।

गण्डकी प्रदेश सरकारका निमित्त प्रमुख सचिव कृष्णप्रसाद लम्सालले प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको स्वरूप बदलिँदै गएको चर्चा गर्दै यसले सिर्जना गर्ने अवसर र चुनौती दुवैलाई सन्तुलित रूपमा व्यवस्थापन गर्न प्रदेश सरकार सचेत रहेको बताए।

कार्यक्रममा दुईवटा प्राविधिक सत्र सञ्चालन गरिएको थियो। पहिलो सत्रमा आईटी एनालिस्ट इन्जिनियर मिलन श्रेष्ठले निर्वाचन सम्बन्धी समाचारमा एआई र एल्गोरिदमको प्रभाव विषयक कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जालका एल्गोरिदमले मतदाताको मनोविज्ञानमा कसरी प्रभाव पार्छन् भन्ने विषयमा प्रकाश पारे। उनले लक्षित सामग्री डेटा विश्लेषण र स्वचालित प्रचारका सम्भावित जोखिमबारे चर्चा गरे।

दोस्रो सत्रमा खोज पत्रकारिता केन्द्रका सम्पादक एवं वरिष्ठ पत्रकार किरण नेपालले निर्वाचनका समयमा मिथ्या सूचनाको जोखिमबारे प्रस्तुति दिँदै ‘फेक न्युज’ र ‘डिपफेक’ जस्ता प्रविधिजन्य चुनौतीलाई चिर्न पत्रकारहरूले तथ्य जाँचमा विशेष ध्यान दिनुपर्ने बताए। उनले स्रोत प्रमाणीकरण, बहुस्रोत पुष्टि र डिजिटल साक्षरताको आवश्यकता औँल्याए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले पत्रकारितामा प्रविधिको प्रयोग बढेसँगै विश्वसनीयताको सङ्कट पनि गहिरिँदै गएको उल्लेख गर्दै सम्पादकहरू थप जिम्मेवार र सचेत हुनुपर्ने धारणा राखे।

गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै सम्पादकीय नेतृत्वलाई प्रविधिमैत्री र जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्। उनले सहभागी सम्पादकहरूलाई धन्यवाद दिँदै आगामी निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन गण्डकीका सञ्चारमाध्यमहरूले नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

प्रेस रजिष्ट्रार बिमला भण्डारीको अध्यक्षतामा प्रेस रजिष्ट्रार कार्यालयका उपसचिव निराजन शर्माले सञ्चालन रहेको कार्यक्रममा पोखरास्थित सञ्चारमाध्यमका प्रधान सम्पादक, वरिष्ठ सम्पादक, ब्युरो प्रमुख तथा प्रेस स्वतन्त्रता सेनानी गरी ५० भन्दा बढीको सहभागिता रहेको थियो।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected