0Shares

पोखरा। निर्वाचन आयोग नेपालका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले आजसम्म मात्रै प्रचारप्रसार गर्न पाउने भएका छन्। आज राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ।

आयोगका अनुसार मतदान हुने दिनभन्दा अघिल्लो ४८ घण्टादेखि मतदान सम्पन्न नभएसम्म मौन अवधि लागू हुनेछ। यस अवधिमा कुनै पनि प्रकारका सभा, सम्मेलन, गोष्ठी, छलफल, अन्तर्क्रिया, कार्यशाला तथा प्रचारप्रसारका गतिविधि गर्न पाइने छैन। सामाजिक सञ्जालमार्फत गरिने प्रचारसमेत निषेध गरिएको आयोगले स्पष्ट पारेको छ।

त्यस्तै, मतदान हुने दिनभन्दा ४८ घण्टा अघि नै मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था गरिएको छ। आचारसंहिता उल्लंघन गरेमा सम्बन्धित उम्मेदवारको मनोनयनसमेत रद्द हुन सक्ने चेतावनी आयोगले दिएको छ। स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनका लागि मौन अवधिको पूर्ण पालना गर्न आयोगले सबै पक्षसँग आग्रह गरेको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत गण्डकी प्रदेशमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ। प्रदेशका ११ जिल्लामा आयोगसँग समन्वय गरी आवश्यक व्यवस्थापनको काम सम्पन्न गरिएको छ।

देशभर करिब १ करोड ८९ लाख मतदाता रहेकामा गण्डकी प्रदेशमा मात्रै करिब १८ लाख ७० हजारभन्दा बढी मतदाता रहेका छन्। प्रदेशभर १ हजार २ ९७ मतदान स्थल र २ हजार ३९६ मतदान केन्द्र तोकिएका छन्।

प्रदेशका १८ निर्वाचन क्षेत्रमा ३० दलका उम्मेदवारसहित २३४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। तीमध्ये २९ महिला र २०५ पुरुष उम्मेदवार छन्। निर्वाचन सञ्चालनका लागि १४ हजार ३५० कर्मचारी र ७ हजार ६५ स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ।

प्रदेशभर करिब २१ हजार ६ सय ९३ अस्थायी मतदाता रहेका छन् भने १७  वटा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ।

हिमाली तथा उच्च भेगका केही मतदान केन्द्रमा विशेष तयारी गरिएको छ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको शाङ्ता गाउँस्थित करिब ४४०० मिटर उचाइमा रहेको मतदान केन्द्र तथा मनाङको नारफु गाउँपालिका ४२०० मिटर उचाइ रहेको क्षेत्रमा हिमपातका कारण केही समय समस्या देखिए पनि मौसम अनुकूल भएसँगै सोही स्थानमा मतदान गर्ने व्यवस्था मिलाइएको जनाइएको छ।

प्रदेशका ३००० मिटरभन्दा माथि रहेका मतदान केन्द्रमा खटिने कर्मचारीका लागि गोरखा, म्याग्दी, मुस्ताङ र मनाङ जिल्लामा पोर्टेबल अक्सिजन सिलिन्डर तथा उच्च उचाइमा हुने स्वास्थ्य समस्यासम्बन्धी औषधिको व्यवस्था गरिएको छ।

निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पठाइसकिएको छ भने मतदान अधिकृत तथा सहायक अधिकृतको तालिम, सुरक्षा व्यवस्थापन, जनशक्ति परिचालन र मतदाता शिक्षा कार्यक्रमसमेत सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै पक्षसँग समन्वय गरेर काम भइरहेको जनाइएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected