0Shares

स्याङ्जा, २८ फागुन। स्याङ्जामा खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता ठग्ने तथा कालोबजारी हुन सक्ने सम्भावनालाई रोक्न स्थानीय प्रशासनले जिल्लाका प्रमुख बजार क्षेत्रमा अनुगमन गरेको छ।

मध्यपूर्व क्षेत्रमा अमेरिका–इजरायल र इरानबीच तनाव बढिरहेका बेला त्यसको असर देखाउँदै बजारमा ग्यासको कृत्रिम अभाव गरिने सम्भावनालाई ध्यानमा राख्दै अनुगमन गरिएको हो।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाको अगुवाइमा जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरूमा रहेका ग्यास डिलर तथा पसलहरूको अवस्था बुझ्न स्थलगत अनुगमन गरिएको हो। अनुगमन टोलीले पुतलीबजार, राङ्खोलाला, बयरघारी, वालिङ र गल्याङलगायत क्षेत्रका ग्यास बिक्रेता पसलमै पुगेर निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा ग्यासको मौज्दात, वितरण प्रक्रिया तथा बिक्री मूल्यको जाँच गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीको नेतृत्वमा खटिएको संयुक्त टोलीले सिलिन्डरको तौल र परिमाण जाँच गर्नुका साथै बिक्री वितरण गर्दा अनिवार्य रूपमा बिलबिजक जारी गरिएको छ वा छैन भन्ने विषयमा समेत परीक्षण गरेको थियो।

जाँचबुझका क्रममा नियम विपरीत कारोबार गरेको पाइएका केही डिलरलाई तत्काल दण्डजरिवाना गरिएको प्रशासनले जनाएको छ। साथै व्यवसायीलाई व्यापारिक मापदण्ड पालना गर्न निर्देशन दिँदै सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए।

अनुगमन टोलीमा एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भिमबहादुर भण्डारी मगर, जिल्ला प्रशासन कार्यालयका लेखापाल रमेश विक, नायब सुब्बा बुद्धि प्रसाद शर्मा, उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनी तथा पत्रकारहरूको सहभागिता रहेको थियो।

अनुगमनपछि सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले जिल्लामा खाना पकाउने ग्यासको अभाव नभएको दाबी गरे। युद्धलाई बहाना बनाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, महँगोमा बिक्री गर्ने वा अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने व्यवसायीलाई कडा कारबाही गरिने उनले चेतावनी दिए।

प्रशासनका अनुसार ग्यासको आपूर्ति श्रृंखला नियमित रहेकाले तत्काल स्याङ्जामा ग्यास अभाव हुने अवस्था छैन। उपभोक्तालाई निर्वाध रूपमा ग्यास प्रयोग गर्न आग्रह गर्दै प्रशासनले उपभोक्ताको हित संरक्षणका लागि प्रमुख व्यापारिक केन्द्रहरूमा अनुगमनलाई नियमित रूपमा निरन्तरता दिइने जनाएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected