0Shares

पोखरा । पोखरा–९, दरबारथोकस्थित सेफ किड्स प्री–स्कुलले आफ्नो ११औँ दीक्षान्त समारोह शनिबार सम्पन्न गरेको छ। समारोहमा ८ जना विद्यार्थी दीक्षित भई प्री–स्कुल तह पूरा गर्दै प्राथमिक विद्यालयतर्फ अघि बढेका छन्।

संस्थाका निर्देशक टेकमान प्राधानाङ्घको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका व्यवस्थापक शक्ति प्रधानाङ्घले स्वागत मन्तव्य राख्दै विद्यालयका गतिविधिबारे प्रकाश पारेकी थिइन्।

विद्यालयमा अनुभवी शिक्षक–शिक्षिकामार्फत अध्यापन गराइँदै आएको छ भने समय–समयमा शिक्षकहरूलाई तालिमसमेत प्रदान गरिँदै आएको छ। तालिमले शिक्षण विधिलाई अझ प्रभावकारी बनाउँदै बालबालिकाको सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। प्रशिक्षित शिक्षकबाट सजीव र रमाइलो वातावरणमा सिकाइ हुँदा बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा भावनात्मक विकासमा टेवा पुग्ने यसबारे विद्यालयकी संस्थापक तथा प्रिन्सिपल नारायणी कोइरालाले जानकारी दिइन ।

निर्देशक प्राधानाङ्घले शिक्षकहरूको ज्ञान, सीप र क्षमतालाई थप निखार्दै गुणस्तरीय शिक्षणमार्फत विद्यार्थीको समग्र विकासमा जोड दिइएको बताए।

विगत १६ वर्षदेखि बालबालिकाको समग्र विकासमा योगदान पुर्‍याउँदै आएको उक्त प्री–स्कुलमा हाल ६० जना विद्यार्थी अध्ययनरत छन्। स्वच्छ र पारिवारिक वातावरणमा शिक्षण–सिकाइ सञ्चालन हुँदै आएको विद्यालयमा शुद्ध पिउने पानी र सन्तुलित भोजनको व्यवस्था गरिएको प्रिन्सिपल कोइरालाले बताइन्।

समारोहमा अभिभावकहरू अर्जुन गुरुङ, रामादेवी क्षेत्री, गोविन्द के.सी. लगायतले विद्यालयको शिक्षण पद्धति र बालबालिकामा देखिएको अनुशासनप्रति सन्तोष व्यक्त गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected