लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालमा नयाँ नेतृत्वः सूर्यकुमार के.सी. गभर्नरमा निर्वाचित

काठमाडौं । विश्वकै अग्रणी सामाजिक संस्था लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन बर्ष २०२६ \ २७ का लागि नयाँ नेतृत्व चयन भएको छ । शनिवार काठमाडौंमा सम्पन्न चौथो महाधिवेशनबाट सूर्यकुमार के.सी. सर्वसम्मत रूपमा डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका छन्। लामो समयदेखि लायन्स आन्दोलनमा सक्रिय रहँदै आएका के.सी.को नेतृत्वले डिष्ट्रिक्टलाई थप सशक्त, संगठित र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।
को हुन् सूर्यकुमार के.सी.?
करिब डेढ दशकदेखि लायनवादमा निरन्तर सक्रिय के.सी.ले विभिन्न जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गर्दै आफ्नो क्षमताको प्रमाण प्रस्तुत गरिसकेका छन्। दुई वर्षअघि उनलाई लायन्स क्लब अफ काठमाडौं साकुराले भाइस डिष्ट्रिक्ट गभर्नरका रूपमा अघि सारेको थियो। योजनाबद्ध कार्यशैली, पारदर्शिता, स्पष्ट दृष्टिकोण र दृढ नेतृत्वका कारण उनी संस्थाभित्र विश्वसनीय र प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित भएका छन्।
के.सी. केवल सफल व्यवसायी मात्र होइनन्, उनी सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्। विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निभाउँदै उनले सामाजिक सेवा, मानवीय सहायता र संगठन विस्तारमा उल्लेखनीय योगदान दिएका छन्। लायन्सका विभिन्न तालिम, सेमिनार तथा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुँदै उनले आफ्नो अनुभव र नेतृत्व क्षमता अझ परिष्कृत बनाएका छन्। उनी भन्छन्—लायन्स सदस्यहरूको मन जित्दै सामूहिक प्रयासमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउनु नै आफ्नो प्रमुख लक्ष्य हो।
सन् २०१३ मा लायन्स क्लब अफ काठमाडौं साकुरा स्थापना गर्दै संस्थापक प्रथम उपाध्यक्षका रूपमा उनले आफ्नो लायन यात्रा सुरु गरेका थिए। त्यसयता निरन्तर सामाजिक सेवामा समर्पित रहँदै उनले क्लबलाई काठमाडौंका अग्रणी संस्थामध्ये एक बनाएका छन्। स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण र विपन्न समुदायको उत्थानमा केन्द्रित उनका पहलहरूले समाजमा सकारात्मक प्रभाव पारेका छन्।
व्यक्तिगत जीवनतर्फ, गोविन्द बहादुर के.सी. र दुर्गा के.सी.का सुपुत्र सूर्यकुमार के.सी. काठमाडौंको टोखा नगरपालिका–८ का स्थायी बासिन्दा हुन्। उनकी धर्मपत्नी संगीता के.सी. हुन् भने दुई सन्तान—आयुष र मुस्कान—छन्। पारिवारिक र सामाजिक दुवै जिम्मेवारीलाई सन्तुलित रूपमा अघि बढाउँदै आएका के.सी.लाई एक अनुशासित र जिम्मेवार व्यक्तित्वका रूपमा पनि चिनिन्छ।
संगठन विस्तारमा पनि उनको योगदान उल्लेखनीय छ। उनले १३ वटा नयाँ लायन्स क्लब स्थापना गर्न नेतृत्व दिएका छन् भने २१ वटा क्लबमा गाइडिङ लायनका रूपमा भूमिका निर्वाह गरिसकेका छन्। यसले उनको संगठन निर्माण र नेतृत्व विकासप्रतिको गहिरो प्रतिबद्धता प्रष्ट पार्छ।
लायन्स फाउन्डेसनमा एमजेएफ सदस्य, टीयू ब्लड बैंकका संस्थापक सदस्य तथा नेपाल लायन्स फाउन्डेसनका प्रमुख दाताका रूपमा उनको भूमिका विशेष रूपमा प्रशंसनीय छ। उनको सक्रियताले हजारौं व्यक्तिहरूको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको छ।
क्लब अध्यक्षदेखि प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरसम्मका महत्वपूर्ण जिम्मेवारीहरू समावेश छन्। अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागिता जनाउँदै उनले लायन्स आन्दोलनको विश्वव्यापी दृष्टिकोण पनि आत्मसात गरेका छन्। विभिन्न प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै उनले नयाँ नेतृत्व उत्पादनमा पनि योगदान पुर्याएका छन्। उत्कृष्ट कार्यकुशलताका लागि उनले पटक–पटक अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा सम्मान प्राप्त गरेका छन्।
मृदुभाषी, सरल, सहयोगी र हँसमुख स्वभावका धनी के.सी. सामूहिक नेतृत्वमा विश्वास गर्ने व्यक्तित्व हुन्। संस्थागत मूल्य र अनुशासनप्रति प्रतिबद्ध उनका यी गुणहरूले उनलाई दूरदर्शी र प्रभावकारी नेताको रूपमा स्थापित गरेका छन्।
भविष्यको कार्यदिशा
लायन वर्ष २०२६–२०२७ का लागि उनले “केयरिङ्ग बाई शेयरिङ्ग” भन्ने मूल नारासहित आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन्। यस अवधारणाले ज्ञान, सीप, अनुभव र स्रोतहरूको साझेदारीमार्फत समाजमा दिगो परिवर्तन ल्याउने लक्ष्य राखेको छ।उनका प्राथमिकतामा स्वास्थ्य सेवा विस्तार, रक्तदान कार्यक्रम, महिला सशक्तीकरण, युवा तथा सीप विकास, शिक्षा प्रवर्द्धन जस्ता क्षेत्रहरू छन्। मधुमेह र क्यान्सर सचेतना, निःशुल्क स्वास्थ्य शिविर, आँखा तथा दन्त उपचार शिविरजस्ता कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिइएको छ।
त्यसैगरी, “मिशन १.५” अन्तर्गत सदस्यता विस्तार, नयाँ क्लब स्थापना, तालिम प्रणाली सुदृढीकरण, डिजिटल रिपोर्टिङ प्रणाली विकास, कमजोर क्लबहरूको सशक्तीकरण र आजीवन सदस्यता प्रवर्द्धनजस्ता योजनाहरू पनि अघि सारिएका छन्। काठमाडौं र पोखरामा स्थायी सचिवालय स्थापना तथा आपतकालीन कोष निर्माण गर्ने योजना समेत समावेश छ।
प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा भट्टराई र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा भण्डारी निर्वाचित
नयाँ कार्यसमितिअन्तर्गत प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा शैलेन्द्र मोहन भट्टराई र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा विष्णु प्रसाद भण्डारी निर्वाचित भएका छन्।
भट्टराई लायन्स आन्दोलनका अनुभवी र समर्पित व्यक्तित्व हुन्। सन् १९९९ मा लायन्स क्लब अफ लेखनाथबाट आफ्नो यात्रा सुरु गरेका उनले विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। हाल उनी द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरको जिम्मेवारीमा रहेका छन्। रक्तदान, शिक्षा र नेतृत्व विकासका क्षेत्रमा उनको योगदान उल्लेखनीय छ।
त्यस्तै, विष्णु प्रसाद भण्डारी पनि लायन्सका सक्रिय र प्रभावशाली नेतृत्वकर्ता हुन्। सन् २०१० देखि सक्रिय रहँदै आएका उनले लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धका संस्थापक अध्यक्षका रूपमा महत्वपूर्ण भूमिका खेलेका छन्। स्वास्थ्य, शिक्षा र मानवीय सेवामा उनको योगदान प्रशंसनीय छ। एलसिआईएफ र नेपाल लायन्स फाउन्डेसनमा उनले उल्लेखनीय सहयोग गरेका छन्।
इलेक्ट डिष्ट्रिक्ट गभर्नर सूर्य केसीद्वारा अन्य पदमा मनोनीत व्यक्तित्वहरू
डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी: अनुज कुमार श्रेष्ठ, डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर: शिव बहादुर काफ्ले, डिष्ट्रिक्ट चिफ एडभाइजर: ऋषि गिरी, पीआरओ इन चिफ: महेश पाण्डे, एक्जिक्युटिभ एडभाइजर: जनार्दन फुयाल, महेन्द्र कुमार राठी,असिस्टेन्ट चिफ एडभाइजर:अमृत शोभा खत्री, शान्ता देवी थापा भण्डारी, सूर्य नारायण बराल, चिफ काउन्सिलर: हरिराज पन्त, डिष्ट्रिक्ट चिफ एडमिनिस्ट्रेटर:शिवराम गौतम, अमृत प्रसाद तिवारी मनोनित भएका छन्।
यसै गरी, डिष्ट्रिक्ट चिफ को-अर्डिनेटरमा बसुधा पराजुली भट्टराई, भोला थापा, बिकास थापा, बिना थापा, बिनय अग्रवाल,बिन्दु घिमिरे, बिष्णु प्रसाद ढुंगाना, गोपाल प्रधान, मेनका लामा,नारायण बहादुर क्षेत्री, पवित्र राज तिवारी, पदमलाल सापकोटा,पंकज जलान, पवन कुमार थापा, प्रेम प्रसाद दाहाल, राजु चालिसे, राम बहादुर श्रेष्ठ, रामहरि सिलवाल, संजीव क्षेत्री पराजुली,सन्तोष कुमार श्रेष्ठ, सरोज बिष्ट, शिव बहादुर खड्का,सुरेन्द्रमान सिंह भण्डारी, तेज नारायण श्रेष्ठ, तिर्थ कुमार सिंह,युवराज खनाललगाएत रहेका छन् ।
समर्पण, इमानदारी र स्पष्ट दृष्टिकोणका साथ अघि बढिरहेका सूर्यकुमार के.सी.को नेतृत्वमा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अझ प्रभावकारी, संगठित र परिणाममुखी बन्ने विश्वास गरिएको छ। साझा प्रयास र सहकार्यको भावनालाई केन्द्रमा राख्दै उनले अघि सारेको कार्यदिशाले सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स अन्तर्राष्ट्रियका पूर्व निर्देशकहरू लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले डिष्ट्रिक्ट ३२५ आई नेपालले विश्वस्तरमा उदाहरणीय कार्य गरेको उल्लेख गरेका थिए।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने पदाधिकारी र लिडरहरूलाई विभिन्न पदक तथा सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रम व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन गरिएको थियो भने लायन्स क्लब अफ काठमाडौं समर्पणले होस्ट क्लबको जिम्मेवारी निर्वाह गरेको थियो।
लियो नेतृत्व चयन

यसैबीच, लियो जिल्ला परिषद् ३२५ आई नेपालको नयाँ नेतृत्व पनि चयन भएको छ। चौथो वार्षिक अधिवेशनबाट आमोद नेपाल जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्। उपाध्यक्षमा विभुषा बस्नेत, सचिवमा संकल्प कुँवर, कोषाध्यक्षमा प्रतीक गौतम र मेम्बरशिप चेयरपर्सनमा सन्दीप लामिछाने चयन भएका छन्।





















