
पोखरा, नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक सिजी मोटोकर्पले बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV) ‘सुजुकी ई–भिटारा’को आधिकारिक बुकिङ खुला गरेको छ। यसको घोषणा बुधबार पोखरामा आयोजित वाडा अटो शोमा गरिएको हो।
कम्पनीले यस गाडीको आकर्षक सुरुवाती मूल्य रु ४९ लाख ९९ हजार तोकेको छ, जुन सीमित अवधिका लागि मात्र लागू हुनेछ र प्रारम्भिक भेरियन्टमा उपलब्ध रहनेछ। जापानी अटोमेकरको यो पहिलो प्रिमियम ईभीले नेपाली विद्युतीय सवारी (EV) बजारमा विश्वसनीयता र उत्कृष्ट इन्जिनियरिङ स्थापित गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ई–भिटारा यस मूल्य दायरामा जापानी ब्रान्डबाट आउने पहिलो ईभी हो। अत्याधुनिक ब्याट्री प्रविधि, उच्च सुरक्षा मापदण्ड र भविष्यमुखी डिजाइनका कारण यसले आरामदायी तथा रोमाञ्चक ड्राइभिङ अनुभव प्रदान गर्ने विश्वास गरिएको छ। साथै, देशभर फैलिएको सुजुकीको सेवा सञ्जालले ग्राहकलाई सहज स्वामित्व अनुभव दिने कम्पनीको दाबी छ। कम्पनीले सन् २०३० सम्म थप ६ नयाँ ईभी सार्वजनिक गर्ने योजना समेत अघि सारेको छ।
ई–भिटारामा ४९ kWh र ६१ kWh क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्, जसले क्रमशः १०८ kW र १२८ kW पावर उत्पादन गर्छन्। यी विशेषताले यसलाई आफ्नै वर्गमा शक्तिशाली विद्युतीय गाडीका रूपमा स्थापित गरेको कम्पनीले जनाएको छ।
गाडीको बाहिरी बनावट मस्कुलर र एरोडाइनामिक छ। १८ इन्चका अलोय ह्वील, एलईडी प्रोजेक्टर हेडल्याम्प र आधुनिक डिजाइनले यसलाई आकर्षक बनाएको छ। भित्री भागमा डिजिटल ककपिट, ट्विन–डेक फ्लोटिङ कन्सोल, सनरुफ, मल्टि–कलर एम्बियन्ट लाइटिङ र प्रिमियम साउन्ड सिस्टम जस्ता सुविधाहरू समावेश छन्।
यात्रु सुविधालाई ध्यानमा राख्दै भेन्टिलेटेड फ्रन्ट सिट, १०–वे पावर–एडजस्टेबल ड्राइभर सिट र ४०:२०:४० स्प्लिट रियर सिट कन्फिगरेसन दिइएको छ।
नयाँ HEARTECT–e प्लेटफर्ममा आधारित यस गाडीमा ३–इन–१ इलेक्ट्रिक पावरट्रेन प्रणाली प्रयोग गरिएको छ। इको, नर्मल र स्पोर्ट्स गरी तीन ड्राइभिङ मोडका साथै स्नो टेरेन मोड पनि उपलब्ध छ।
एक पटक फुल चार्ज गर्दा ५०० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ।
ई–भिटारामा लेभल २ ADAS, ७ एयरब्याग, TPMS, ई–कल प्रणाली, इलेक्ट्रोनिक पार्किङ ब्रेक र चारै पाङ्ग्रामा डिस्क ब्रेक जस्ता आधुनिक सुरक्षा प्रविधि समावेश छन्। कम्पनीले देशभरका सुजुकी शोरुमहरूमा गाडीको बुकिङ खुला गरेको जनाएको छ।





सम्बन्धित खवर
















