0Shares

पोखरा, चैत १७ आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले होमस्टे अभियानलाई प्राथमिकता दिएको छ। गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने लक्ष्यसहित संघको टोली गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ स्थित लाप्राक गुप्सी नमुना वस्ती सामुदायिक होमस्टेतर्फ प्रस्थान गरेको हो।

मंगलबार प्रस्थान गरेको उक्त टोलीमा ४० जना महिला पर्यटन व्यवसायी तथा सञ्चारकर्मी सहभागी छन्। अभियान अन्तर्गत होमस्टे सञ्चालक तथा स्थानीयवासीसँग छलफल र अन्तरक्रिया, प्रचार सामग्री वितरण तथा आन्तरिक पर्यटनका नयाँ प्याकेज सार्वजनिक गर्ने लगायतका कार्यक्रमहरू सञ्चालन गरिनेछ।

“दिगो पर्यटनका लागि समान सहभागिता” भन्ने मूल नाराका साथ स्थापित संघले महिला सशक्तीकरण, पर्यटन प्रवर्द्धन तथा उद्यमशीलता विकासका क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएको छ। संघकी अध्यक्ष शोभा न्यौपाने पाण्डेका अनुसार तीज सांस्कृतिक कार्यक्रम, उद्यमी मेला, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन, व्यवसाय विकास तथा व्यक्तिगत क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।

यसै सन्दर्भमा “पोखरा भ्रमण वर्ष” लाई लक्षित गर्दै महिला केन्द्रित पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको संघकी महासचिव शोभा अधिकारी पौडेलले जानकारी दिइन्। पोखरालाई पर्यटनको राजधानीका रूपमा प्रवर्द्धन गर्दै गण्डकी प्रदेशका अन्य प्रमुख गन्तव्यहरूको प्रचारप्रसार गर्ने उद्देश्यले उक्त कार्यक्रम लाप्राकस्थित नमुना होमस्टेमा सञ्चालन गरिनेछ।

कार्यक्रम संयोजक विष्णु गुरुङका अनुसार यस अभियानले ग्रामीण पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनुका साथै स्थानीय अर्थतन्त्र सुदृढ बनाउन र महिला उद्यमशीलता अभिवृद्धिमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

भ्रमण टोलीमा संस्थापक अध्यक्ष लक्की कार्की, निवर्तमान अध्यक्ष कमला गिरी, उपाध्यक्ष अनिता खड़का, सचिव शान्ता तिमिल्सिना, कोषाध्यक्ष शारदा लम्साललगाएत कार्यसमितिका सदस्य एव साधारण सदस्यहरूको सहभागिता रहेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected