
पोखरा । गण्डकी विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह चैत २८ गते आयोजना गर्ने भएको छ। सो अवसरमा स्नातक तह पूरा गरेका ४४ विद्यार्थी औपचारिक रूपमा उपाधिसहित दीक्षित हुनेछन्।

पोखरा–३२ मालमुलस्थित ज्ञानकुञ्ज परिसरमा हुने समारोहमा ब्याचलर अफ स्पोर्टस् म्यानेजमेन्टका ११, ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजीका १८ तथा ब्याचलर अफ फार्मेसीका १५ विद्यार्थी सहभागी रहनेछन्। विश्वविद्यालयले दीक्षान्तलाई आफ्नो शैक्षिक उपलब्धि, गुणस्तर र पहिचानको महत्वपूर्ण उत्सवका रूपमा लिएको छ।

उपकुलपति डा. कृष्णराज अधिकारीका अनुसार, समारोहले विद्यार्थीको शैक्षिक सफलतालाई औपचारिक मान्यता दिनुका साथै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान गर्ने बाटो खोल्नेछ। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथि रहनेछन् भने प्रमुख वक्ताका रूपमा शिक्षाविद् केदारभक्त माथेमा सहभागी हुनेछन्।
करिब ५०० जनाको उपस्थिति रहने अपेक्षा गरिएको समारोहमा विभिन्न विश्वविद्यालयका प्रतिनिधि, शैक्षिक तथा व्यावसायिक क्षेत्रका अगुवा, स्थानीय समुदाय र सञ्चारकर्मीहरूको सहभागिता रहनेछ।
विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले दीक्षान्त समारोहलाई केवल उपाधि वितरणमा सीमित नभई सुशासन, शैक्षिक उत्कृष्टता र संस्थागत पारदर्शिताप्रतिको सार्वजनिक प्रतिबद्धताका रूपमा व्याख्या गरेका छन्। नियमावलीअनुसार उत्कृष्ट विद्यार्थीमध्ये एक जनालाई कुलपति पदक तथा प्रत्येक कार्यक्रमबाट एक/एक जना गरी तीन जनालाई उपकुलपति पदक प्रदान गरिनेछ।
यसैबीच, विश्वविद्यालयले ‘गण्डकी विश्वविद्यालय दीक्षान्त समारोह सम्बन्धी कार्यविधि २०८२’ र ‘पदक तथा प्रमाणपत्र सम्बन्धी नियमावली २०८२’ तयार गरी सोहीअनुसार कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
२०७६ सालमा स्थापना भएको विश्वविद्यालयमा हाल ६ शैक्षिक कार्यक्रमअन्तर्गत करिब ७५० विद्यार्थी अध्ययनरत छन्। गुणस्तरीय शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिँदै निकट भविष्यमा स्नातकोत्तर तथा विद्यावारिधि कार्यक्रम सञ्चालन गर्ने लक्ष्यसमेत विश्वविद्यालयले अघि सारेको छ।





सम्बन्धित खवर














