
पोखरा, २५ चैत । कास्कीको हेमजामा आयोजना हुन लागेको १४औं राष्ट्रिय हेमजा आलु महोत्सव चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म सञ्चालन हुने भएको छ। महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

महोत्सवको उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गर्ने कार्यक्रम तय भएको छ। महोत्सव सुरु हुनुअघि हेमजास्थित विष्णुपादुका माईस्थानबाट बाजागाजासहित झाँकी ¥याली निकालिनेछ। ¥याली मिलनचोक, साझाचोक हुँदै विष्णुपादुका खेलमैदानस्थित महोत्सवस्थलमा पुग्नेछ।

मूल आयोजक समितिका संयोजक तथा विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठका अनुसार महोत्सवमा आलुका परिकारका लागि विशेष स्टलसहित ३० वटा कृषि स्टल र अन्य करिब एक सय व्यापारिक स्टल रहनेछन्। महोत्सवमा प्रवेशका लागि साधारणतर्फ १०० रुपैयाँ र विद्यार्थीलाई परिचयपत्रका आधारमा ५० रुपैयाँ शुल्क तोकिएको छ। साथै, प्रतिकेजी ३५ रुपैयाँमा आलुको बिक्रीसमेत गरिनेछ।
महोत्सवअन्तर्गत आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शनी, आलुको ठूलो पहाड निर्माण, आलुका विभिन्न परिकारको प्रदर्शन, माटो तथा बोटबिरुवा परीक्षण, रोग नियन्त्रणसम्बन्धी जानकारी र कृषक लक्षित कार्यक्रम सञ्चालन गरिनेछन्। त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुति तथा बीउबिजन र कृषि यन्त्रको प्रदर्शनी पनि आकर्षणका रूपमा रहनेछ।
“सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक” भन्ने नारासहित आयोजना गरिने महोत्सवले कृषि पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ५ सय ९० हेक्टरमा आलु खेती हुँदै आएको छ। करिब २ हजार घरपरिवार यस खेतीमा आधारित रहेका छन् भने १ हजार ५० कृषक व्यावसायिक रूपमा आलु उत्पादनमा संलग्न छन्। यहाँ प्रति रोपनी औसत उत्पादन लागत १८ हजार ५ सय ९७ रुपैयाँ पर्ने र औसत उत्पादन ७ सय ९ केजी हुने गरेको तथ्यांक छ।





सम्बन्धित खवर















