0Shares

पोखरा । संघीय निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेपाली काँग्रेस यतिबेला देशव्यापी समीक्षा अभियानमा केन्द्रित भएको छ । सातै प्रदेशमा सञ्चालन भइरहेको उक्त अभियानअन्तर्गत शुक्रबार पोखरामा काँग्रेस गण्डकीले आयोजना गरेको “निर्वाचन समीक्षा तथा काँग्रेसको अबको बाटो” विषयक कार्यक्रम गम्भीर आत्ममूल्यांकन र भावी रणनीति तय गर्ने मञ्चका रूपमा देखिएको छ ।

कार्यक्रममा पार्टी सभापति गगन थापा सहित केन्द्रीय पदाधिकारी, प्रदेश नेतृत्व, जिल्ला सभापतिहरू तथा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले खुलेर आफ्ना अनुभव, गुनासा र सुझाव राख्दै पराजयका कारणहरूको बहुआयामिक समीक्षा गरेका थिए ।

कार्यक्रममा बोल्दै तनहुँका सभापति जितप्रसाद आलले पार्टीभित्र “मतदाता बढाउनेभन्दा नेता बढाउने” प्रवृत्ति मौलाउँदै गएको आरोप लगाए । उनका अनुसार यही प्रवृत्तिले संगठनलाई कमजोर बनाउँदै निर्वाचन परिणाममा नकारात्मक असर पारेको हो । उनले संगठन निर्माणमा नीतिगत स्पष्टता र अनुशासन आवश्यक रहेकोमा जोड दिए ।

लमजुङका सभापति डा. टकराज गुरुङले नयाँ पुस्ता, विशेषगरी ‘जेनजी’ समूहका अपेक्षा सम्बोधन गर्न नसक्नु काँग्रेसको गम्भीर कमजोरी भएको बताए । “युवा पुस्तालाई समेट्न नसक्ने पार्टी भविष्यमा टिक्न सक्दैन,” भन्दै उनले पार्टीले आफ्नो कार्यशैली र एजेन्डामा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औंल्याए ।

स्याङ्जा काँग्रेस सभापति राजु थापाले पार्टीभित्रको विवाद तत्काल समाधान गर्न नेतृत्वलाई चेतावनी दिँदै गुटबन्दीले पार्टीलाई गम्भीर क्षति पुर्‍याएको बताए । “हिजो दाइहरूले पेल्नुभयो भन्ने गुनासो सुनियो, अब फेरि अर्को दाइसँग लड्नुपर्ने अवस्था नआओस्, यथासिघ्र पार्टी मिलाउनुस्,” उनले भने ।

त्यस्तै, कास्की–२ का उम्मेदवार माधवप्रसाद बास्तोला (‘मधु’) ले “काँग्रेसले काँग्रेसलाई नै भोट नदिएको” भन्दै अन्तरघातलाई पराजयको मुख्य कारण ठहर गरे । गण्डकीका अधिकांश उम्मेदवारहरूले पनि यही विषय दोहोर्याउँदै आन्तरिक असमझदारी र गुटबन्दीले परिणाम कमजोर बनाएको दाबी गरे ।

स्याङ्जा–२ का उम्मेदवार भागवतप्रसाद मल्लले विदेशमा रहेका युवा, जेनजी समूह र सुशासनका मुद्दामा पार्टी कमजोर देखिएको बताए । साथै, नेतृत्व र कार्यकर्ताबीच बढ्दो दूरीले संगठनमा असर परेको उनको भनाइ थियो ।

स्याङ्जा–१ का उम्मेदवार भरतराज ढकालले निर्वाचन समीक्षा केवल औपचारिक प्रक्रिया नभई कमजोरी सच्याउने र नयाँ रणनीति बनाउने अवसर भएको बताए । उनले संगठन सुदृढीकरण, कार्यकर्ताको सक्रियता र जनतासँग प्रत्यक्ष सम्पर्क विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा बोल्दै सभापति गगन थापाले पार्टीभित्र एकता, अनुशासन र कार्यशैलीमा व्यापक सुधार आवश्यक रहेको स्वीकार गरे । “पुरानै शैलीमा पार्टी सञ्चालन गर्न सकिँदैन, प्रत्येक कार्यकर्ताले आत्मसमीक्षा गरी व्यवहार परिवर्तन गर्नुपर्छ,” उनले भने ।

उनले विश्वव्यापी रूपमा बढ्दो ‘पपुलिज्म’ र नयाँ मिडियाको प्रभावले परम्परागत दलहरू चुनौतीमा परेको उल्लेख गर्दै काँग्रेसले समयअनुसार आफूलाई रूपान्तरण गर्नुपर्नेमा जोड दिए । “जेनजीदेखि वृद्धसम्म सबैको आवाज समेट्ने अभियानमा काँग्रेस अघि बढ्नुपर्छ,” उनको भनाइ थियो ।

उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट आएको नेतृत्वमाथि अदालतमा चुनौती दिनु उपयुक्त नभएको धारणा राख्दै आन्तरिक एकतामा जोड दिए । उनले पार्टीलाई सशक्त बनाउन सबै नेता–कार्यकर्ता एकजुट हुनुपर्ने बताए ।

महामन्त्री प्रदीप पौडेलले निर्वाचन परिणामलाई सुधारको अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै आगामी वैशाखदेखि ‘जरा अभियान’ सञ्चालन गरिने जानकारी दिए । “जनतासँग प्रत्यक्ष जोडिने र समस्या समाधानमा सँगै उभिने काँग्रेस निर्माण गर्नुपर्छ,” उनले भने ।

पार्टी प्रवक्ता देवराज चालिसेले पराजय भए पनि काँग्रेस विचार र पद्धतिमा नहारेको दाबी गर्दै आगामी पाँच वर्षलाई पुनर्निर्माणको अवसरका रूपमा लिन आग्रह गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले काँग्रेसले विगतमा पनि यस्ता उतारचढाव पार गर्दै आएको स्मरण गराउँदै अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले समीक्षा प्रक्रियाबाट सिकेर अझ सुदृढ भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका सभापति, प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता गण्डकी सभापति शुक्रराज शर्माले गरेका थिए भने स्वागत मन्तव्य कास्की सभापति किशोरदत्त बरालले दिएका थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected