0Shares

पोखरा । पोखरा लेडी जेसीजले आयोजना गरेको वार्षिक कार्यक्रम ‘जेसिज सप्ताह–२०२६’ शुक्रबारदेखि भव्य रूपमा सुरु भएको छ। “सिप र सेवा : सफल व्यक्तित्व, सुदृढ समाज” भन्ने मूल नारासहित सुरु गरिएको सप्ताहव्यापी अभियानको पहिलो दिन साइबर अपराध र बैंकिङ साक्षरतासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको हो।

कन्या क्याम्पस नदिपुरमा आयोजित कार्यक्रममा पछिल्लो समय तीव्र रूपमा बढिरहेका साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट जोगिने उपाय तथा सुरक्षित बैंकिङ अभ्यासबारे विद्यार्थीलाई जानकारी दिइएको महासचिव जेसी सृजना आलेले बताइन्।

पोखरा लेडी जेसीज-२०२६ का अध्यक्ष जेसी सुनिता गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका वड़ा नं ३ का वडा अध्यक्ष प्रकाशमान उदास प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने क्याम्पस प्रमुख सुरेश मानन्धर विशेष अतिथि रहेका थिए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृत होतबहादुर रोकाले साइबर अपराधका नयाँ प्रवृत्ति, डिजिटल सुरक्षाका उपाय तथा युवापुस्ताले अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिएका थिए। त्यसैगरी नविल बैंक सभागृह शाखाका प्रमुख प्रदीप पहाडीले मोबाइल बैंकिङको सुरक्षित प्रयोग, वित्तीय अनुशासन र बैंकिङ साक्षरताको महत्वबारे जानकारी गराए।

सचेतना कार्यक्रममा पोखरा लेडी जेसिसका पूर्वअध्यक्ष सजना महत कर्मचार्य, मिनु कुँवर श्रेष्ठ, जे.सेन. बसन्त केसी, गायत्री फुयाल, क्याम्पसका प्राध्यापक तथा करिब १२० जना विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रम सफल बनाउन मूल संयोजक जेसी विनिता केसी र संयोजक जेसी सन्तोषी अर्यालले सक्रिय भूमिका निर्वाह गरेका थिए। पोखरा लेडी जेसिसले सप्ताहव्यापी कार्यक्रममार्फत नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा जनचेतनामूलक गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected