0Shares

पोखरा, २७ वैशाख । पत्रकारिताको बदलिँदो स्वरूपसँगै मल्टिमिडिया र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभाव बढिरहेका बेला पोखरामा पत्रकारहरूका लागि विशेष तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आइतबारदेखि सुरु भएको “पत्रकारितामा मल्टिमिडिया तथा एआई” सम्बन्धी तीनदिने तालिममा ७५ जना पत्रकार सहभागी भएका छन् ।

वैशाख २९ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पत्रकारितालाई समाज रूपान्तरणको महत्वपूर्ण आधारका रूपमा व्याख्या गरे ।

उनले पत्रकारिताले सरकार, समाज र संघसंस्थाका कमजोरी तथा सकारात्मक पक्ष उजागर गर्दै समाजलाई सही दिशामा डोर्‍याउने भूमिका खेल्ने बताए ।
उनले भने, “कलमले जहिले पनि समाज परिवर्तनको काम गर्छ । पत्रकारिताले सरकारलाई झकझकाउने र समाजलाई व्यवस्थित बनाउने दायित्व निर्वाह गरिरहेको हुन्छ ।”

अर्यालले प्रविधिको तीव्र विकाससँगै एआईको युग सुरु भइसकेको उल्लेख गर्दै पत्रकारितालाई समयानुकूल थप सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले यो तालिमले पत्रकारहरूलाई नयाँ प्रविधि, मल्टिमिडिया सामग्री निर्माण र बदलिँदो सञ्चार प्रवृत्तिसँग अभ्यस्त बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

तालिमले ज्ञान, दृष्टिकोण र सीप विकासमा योगदान पुर्‍याउने उल्लेख गर्दै उनले प्रभावकारी पत्रकारिताका लागि व्यावहारिक दक्षता अपरिहार्य भएको बताए । “समाचारलाई प्रभावकारी र विश्वसनीय बनाउन सही दृष्टिकोण र सीप आवश्यक हुन्छ,” उनले भने ।

नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले पछिल्लो समय पत्रकारितामा प्रविधिको प्रभाव उल्लेखनीय रूपमा बढेको बताए । उनले मोबाइल जर्नालिज्मको महत्व दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै प्रविधिले पत्रकारितालाई छिटो, सहज र प्रभावकारी बनाएको धारणा राखे ।

उनका अनुसार महासंघले पत्रकारितालाई थप व्यवस्थित र जिम्मेवार बनाउन “समय आन्दोलन” अभियानसमेत अघि बढाएको छ । उनले तालिम सहभागीहरूले प्रयोगात्मक अभ्यासमार्फत नयाँ ज्ञान र अनुभव हासिल गर्ने विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालका अनुसार तालिममा डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग, मल्टिमिडिया सामग्री निर्माण तथा एआई प्रविधिको पत्रकारितामा उपयोगसम्बन्धी विषयमा प्रशिक्षण दिइनेछ ।

महासंघ कास्कीका सचिव भूपाल गुरुङले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा उपाध्यक्ष माधव रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालन भएको तालिमको प्राविधिक सहयोग नेपाल खोजमूलक मल्टिमिडिया पत्रकारिता सञ्जाल (निमजिन) ले गरेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected