0Shares

पोखरा । मदरल्याण्ड माध्यमिक विद्यालय ले माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८२ मा फेरि उत्कृष्ट नतिजा हासिल गर्दै नयाँ कीर्तिमान कायम गरेको छ ।

सोमबार प्रकाशित नतिजाअनुसार विद्यालयबाट अहिलेसम्मकै धेरै १२ जना विद्यार्थीले उच्चतम ४.० जिपिए ल्याउन सफल भएका हुन् । यसअघि २०८१ सालमा ११ जना र २०८० सालमा १० जनाले ४.० जिपिए ल्याएका थिए । लगातार बढ्दो उत्कृष्ट नतिजाले विद्यालयको शैक्षिक गुणस्तर थप प्रमाणित गरेको छ ।

यस वर्ष एसइईमा विद्यालयका १ सय ६३ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये १ सय २४ जनाले ३.६ देखि ४.० जिपिए प्राप्त गरेका छन् भने ३० जनाले ३.२० देखि ३.६० जिपिए ल्याएका छन् । बाँकी ९ जनाको नतिजा ३.०३ देखि ३.२० जिपिएभित्र रहेको प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए ।

उच्चतम ४.० जिपिए ल्याउने १२ विद्यार्थीमध्ये ७ जना छात्रा र ५ जना छात्र रहेका छन् । उत्कृष्ट सफलता हासिल गर्ने विद्यार्थीहरूमा आयुषा अधिकारी, आयुषा पोखरेल, आयुष्मा थापा, अंकिता तिमिल्सिना, अनुष्ठान रेग्मी, दिप्सन कँडेल, दीक्षा सुवेदी, नम्रता ढकाल, साइमन अधिकारी, समीप सुवेदी, सार्थक अधिकारी र सूर्यांश केसी रहेका छन् ।

पोखरा–७, माबारस्थित विद्यालयले शैक्षिक उपलब्धिसँगै विभिन्न समयमा नेपाल सरकारका निकायबाट ‘बेस्ट स्कुल अवार्ड’ समेत प्राप्त गर्दै आएको छ । गत वर्ष कक्षा १२ को नतिजामा विद्यालयका १२ जना विद्यार्थीले सर्वोत्कृष्ट ३.९६ जिपिए ल्याएका थिए, जसमा विज्ञान संकायका ८ र व्यवस्थापन संकायका ४ जना विद्यार्थी थिए ।

काठमाडौं उपत्यकाबाहिर रहेर पनि राष्ट्रिय स्तरमै उत्कृष्ट नतिजा निकाल्दै आएको मदरल्याण्डले पछिल्ला वर्षहरूमा ‘नेपाल टप’ गर्ने विद्यार्थीसमेत उत्पादन गर्दै आएको छ । २०८० सालमा जीवन अधिकारी, कृतिका थापा र राजेश पौडेल तथा २०८१ सालमा सदीक्षा क्षत्रीले कक्षा १२ मा नेपाल टप गरेका थिए ।

विद्यालयको सफलताप्रति खुसी व्यक्त गर्दै प्राचार्य डा. नारायण बरालले उत्कृष्ट नतिजासहित उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेका छन् । उनले उत्कृष्ट नतिजाका लागि निरन्तर सक्रिय शिक्षक, शिक्षिका तथा अभिभावकप्रति धन्यवाद तथा आभारसमेत प्रकट गरे ।

हाल विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected