0Shares

पोखरा, जेठ १८ बालअधिकार प्रवर्द्धन तथा अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना भ्वाइस अफ चिल्ड्रेनले गरेको थियो भने बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को सहकार्य तथा केएनएच जर्मन र जर्मन कोअपरेसनको सहयोग रहेको थियो।

कार्यक्रममा सिजपका केन्द्रीय सदस्य केशव पौडेल लेबालअधिकार प्रवर्द्धनमा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। भ्वाइस अफ चिल्ड्रेनका उपनिर्देशक राजु घिमिरेले सन् २०२३ मा ५१४ जना बालबालिकामाझ गरिएको अध्ययन प्रस्तुत गर्दै १३ देखि १८ वर्ष उमेर समूहका ९७ प्रतिशत बालबालिकाको इन्टरनेटमा पहुँच रहेको जानकारी दिए।

अध्ययनअनुसार सहभागी बालिकामध्ये ३८.६० प्रतिशतले यौनजन्य सन्देश प्राप्त गरेको, ३४ प्रतिशतले अश्लील तस्बिर तथा १३.६० प्रतिशतले अश्लील लिङ्क वा भिडियो प्राप्त गरेको बताएका छन्। त्यस्तै, ६.८० प्रतिशत बालिका विभिन्न प्रकारका अनलाइन दुर्व्यवहार तथा शोषणको सिकार भएको तथ्य अध्ययनले उजागर गरेको छ।

बालकहरूको अवस्था पनि चिन्ताजनक देखिएको छ। सहभागी बालकमध्ये ३२.३० प्रतिशतले यौनजन्य सन्देश, २९.२० प्रतिशतले अश्लील तस्बिर तथा १५.४० प्रतिशतले अश्लील लिङ्क वा भिडियो प्राप्त गरेको बताएका छन् भने ६.२० प्रतिशत अन्य प्रकारका अनलाइन दुर्व्यवहारमा परेको उल्लेख गरिएको छ।

अध्ययनले अभिभावकहरूमा डिजिटल सुरक्षा सम्बन्धी जानकारीको अभावसमेत औँल्याएको छ। सहभागी अभिभावकमध्ये ९९ प्रतिशतसँग इन्टरनेट सुविधा भए पनि अनलाइन बाल यौन दुर्व्यवहार, कानुनी व्यवस्था, उजुरी प्रक्रिया तथा डिजिटल साक्षरताबारे पर्याप्त जानकारी नभएको पाइएको छ।

कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार नेपाल पुलिस साइबर ब्यूरोमा आर्थिक वर्ष २०८१/८२ मा मात्रै ७७२ जना बालबालिका साइबर अपराधको सिकार भएको भन्दै उजुरी दर्ता भएको छ। तीमध्ये ३५१ जना बालक र ४२१ जना बालिका रहेका छन्। अनलाइनमार्फत हुने यस्ता घटनामध्ये ८१ प्रतिशतभन्दा बढी फेसबुकमार्फत हुने गरेको तथ्यसमेत सार्वजनिक गरिएको छ।

अग्रज पत्रकार गंगाधर पराजुलीले ‘बालअधिकार प्रवर्द्धनमा सञ्चारकर्मीहरूको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै बालबालिकासम्बन्धी समाचार प्रकाशन तथा प्रसारण गर्दा उच्च संवेदनशीलता अपनाउनुपर्ने र पत्रकारिताको आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए।

नेपाल प्रेस काउन्सिलका पूर्व सदस्य केशव शरण लामिछानेले अनलाइन बाल यौन दुर्व्यवहार रोकथामका लागि सामाजिक सञ्जालको प्रभावकारी नियमन आवश्यक रहेको बताए। राष्ट्रिय समाचार समितिका बासुदेव पौडेलले अनलाइन बाल सुरक्षाको सवालमा सञ्चारकर्मी स्वयं सचेत र जिम्मेवार हुनुपर्ने धारणा राखे।

पत्रकार सन्देश श्रेष्ठले बालबालिकासम्बन्धी विषयलाई सञ्चारमाध्यमले प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै यसलाई अझ प्रभावकारी र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याए। अर्का पत्रकार युबराज श्रेष्ठले बालबालिकासँग सरोकार राख्ने विषयलाई प्राथमिकताका साथ उजागर गरी समाजमा चेतना फैलाउन सञ्चारमाध्यमले अझ सक्रिय भूमिका खेल्नुपर्ने बताए।

कार्यक्रमको समापन गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्माले सूचना प्रविधिले जीवनलाई सहज बनाएको भए पनि नयाँ चुनौतीहरू थपिएको बताइन् । नयाँ सञ्चार माध्यमको बढ्दो प्रयोगसँगै बालअधिकारप्रति संवेदनशील, उत्तरदायी र जिम्मेवार पत्रकारिताको आवश्यकता अझ बढेको उनको भनाइ थियो।

गण्डकी प्रदेशका विभिन्न सञ्चारमाध्यमका अग्रज पत्रकारसहित २९ जना सञ्चारकर्मी सहभागी कार्यक्रममा अनलाइन बाल दुर्व्यवहार रोकथामका लागि बालबालिका, अभिभावक, शिक्षक, सञ्चारकर्मी तथा कानुनी निकायबीच समन्वित प्रयास आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

कार्यक्रममा भ्वाइस अफ चिल्ड्रेनले विगत २६ वर्षदेखि सडकमा रहेका तथा जोखिममा परेका बालबालिकाको उद्धार, संरक्षण र परिवारसँग पुनर्मिलनका क्षेत्रमा काम गर्दै आएको जानकारी दिँदै सुरक्षित समाज निर्माणका लागि सञ्चारकर्मी र सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको जनाएको थियो।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected