
गायनमा करिना सारु मगर र चित्रकलामा भविन्द्र विष्ट प्रथम
पोखरा, जेठ २५ – गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको शिक्षा विकास महाशाखा, पोखराको आयोजनामा विशेष क्षमता (अपाङ्गता) भएका बालबालिकाहरूको प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत एकल गायन तथा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा चित्रकलातर्फ ११ जना र गायनतर्फ ७ जना विशेष क्षमता भएका बालबालिकाहरूले सहभागिता जनाएका थिए।
शिक्षा विकास महाशाखाका प्रमुख तथा अतिरिक्त प्रदेश सचिव दामोदर सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शाखा अधिकृत प्रकाश ओझाले गरेका थिए।
एकल गायन प्रतियोगिताको निर्णायक मण्डलमा बालाराम अधिकारी, चोलेन्द्र पौडेल र दिलीप गायक रहेका थिए भने चित्रकला प्रतियोगिताका निर्णायकमा प्राज्ञ रमेश श्रेष्ठ र जीतबहादुर गुरुङ रहेका थिए।
प्रतियोगितामा सहभागी बालबालिकाहरूले आफ्नो सिर्जनशीलता, कला तथा सांगीतिक प्रतिभा प्रस्तुत गरेका थिए। विशेष क्षमता भएका बालबालिकामा रहेको अन्तरनिहित प्रतिभाको पहिचान, प्रोत्साहन तथा सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको शिक्षा विकास महाशाखाले जनाएको छ।
एकल गायनतर्फ प्रथम : करिना सारु मगर (नवलपुर), द्वितीय : निरज सुवेदी (कास्की), तृतीय : प्रकाश बुदुजा (म्याग्दी), सान्त्वना : कुशल विक (कास्की) र बालकुमार थापा (तनहुँ) हुन सफल भए ।
चित्रकलातर्फ प्रथम : भविन्द्र विष्ट (बागलुङ), द्वितीय : सुमन दुरा (लमजुङ), तृतीय : पर्वत शर्मा (कास्की), सान्त्वना : विशाल श्रीपाली (म्याग्दी) र निखिल बूढामगर (बागलुङ) भएका छन् ।
कार्यक्रममा सहभागी बालबालिका, अभिभावक तथा सरोकारवालाहरूले यस्ता कार्यक्रमले विशेष क्षमता भएका बालबालिकाको आत्मविश्वास अभिवृद्धि गर्न, उनीहरूको प्रतिभालाई उजागर गर्न तथा समाजमा सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।




























