0Shares

पोखरा, २४ असार — नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठलाई पोखरा उद्योग वाणिज्य संघले विशेष कार्यक्रमबीच बधाई तथा सम्मान गरेको छ। महासंघको ६०औँ वार्षिक साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएका श्रेष्ठले निजी क्षेत्रप्रति बढ्दो अविश्वास अन्त्य गर्दै व्यवसायीलाई सम्मानजनक वातावरण दिलाउने अभियानमा आफू पूर्ण रूपमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले व्यवसायीहरू अझै पनि “शंकाको चौबाटो” मा उभिएको उल्लेख गर्दै निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन गर्न सरकार, निजी क्षेत्र र समाज सबैको साझा प्रयास आवश्यक रहेको बताए। उनले आर्थिक वर्ष २०८३/८४ को बजेटले निजी क्षेत्रसँग सहकार्यको संकेत गरेको भन्दै आशा जगाएको उल्लेख गरे। नवप्रवर्तन र युवामैत्री नीतिलाई बजेटका सकारात्मक पक्षका रूपमा चित्रित गर्दै सम्पत्ति शुद्धीकरणको नाममा उद्योगी–व्यवसायीमाथि भइरहेको अनावश्यक दबाबप्रति चिन्ता व्यक्त गरे।

“हामी जिम्मेवार हुनुपर्छ, तर राज्यले पहिले सुन्ने र त्यसपछि निष्कर्षमा पुग्ने प्रक्रिया अपनाउनुपर्छ,” उनले भने, “अरूलाई क्षमादान दिने राज्यले व्यवसायीको हितका विषयमा किन संवेदनशील बन्न सक्दैन ?”

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य गोकर्ण कार्कीले महासंघको इतिहासमा पोखराले दोस्रोपटक अध्यक्ष पाउनु गौरवको विषय भएको बताए। निजी क्षेत्रको मनोबल उकास्न र व्यावसायिक वातावरण सुधार गर्न अध्यक्ष श्रेष्ठको कार्यकाल सफल हुने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले वर्तमान सरकारले ल्याएको बजेटले अर्थतन्त्रको रूपान्तरण गर्न सक्ने सम्भावना रहेको बताए पनि सम्पत्ति शुद्धीकरणका नाममा व्यवसायीमाथि अत्यधिक निगरानी र दबाब बढाइएको आरोप लगाए। निजी क्षेत्रलाई अपराधीझैँ व्यवहार गर्ने प्रवृत्तिले लगानी वातावरण बिगार्ने चेतावनी दिँदै उनले महासंघलाई व्यवसायीहरूको पक्षमा स्पष्ट र दृढ आवाज उठाउन आग्रह गरे।

उनले संविधान संशोधनको बहस चलिरहेका बेला अर्थतन्त्रसँग सम्बन्धित विषयमा महासंघले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याए। “लगानीमैत्री वातावरण निर्माण नगरी आर्थिक समृद्धि सम्भव हुँदैन,” उनको भनाइ थियो।

महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण श्रेष्ठले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूले उठाएका हरेक आवाजलाई महासंघले प्राथमिकताका साथ सुन्ने बताए। अर्का उपाध्यक्ष कृष्णप्रसाद शर्माले निजी क्षेत्रको मनोबल उकास्न महासंघको नेतृत्व निरन्तर सक्रिय रहने बताए।

त्यसैगरी नेपाल युवा उद्यमी मञ्च (एनवाइईएफ) पोखरा च्याप्टरका अध्यक्ष ई. सरोज कायस्थले सूचना प्रविधि क्षेत्रको विकासका लागि युवा उद्यमीहरू सक्रिय रहेको उल्लेख गर्दै प्रदेश सरकारले घोषणा गरेको आईटी पार्कलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा निजी क्षेत्रको सम्मान, लगानीमैत्री वातावरण, आर्थिक सुधार र उद्यमशीलता प्रवर्द्धनका विषय प्रमुख रूपमा उठाइएका थिए। सहभागीहरूले सरकार र निजी क्षेत्रबीचको विश्वास सुदृढ गर्दै आर्थिक गतिविधिलाई गति दिनुपर्ने आवश्यकता औँल्याएका थिए।

गण्डकीका पर्यटकीय गन्तव्यबारे जानकारी दिन पोखरा विमानस्थलमा स्मार्ट डिस्प्ले बोर्ड

 पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको जानकारी दिने उद्देश्यले स्मार्ट डिस्प्ले बोर्ड स्थापना गरेको छ।

आइतबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले उक्त बोर्डको उद्घाटन तथा शुभारम्भ गरेका हुन्।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरा कार्यालयसँगको समन्वयमा विमानस्थलको आगमन कक्षमा राखिएको उक्त बोर्डमार्फत गण्डकी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यहरूको जानकारी प्रदान गरिनेछ। पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई यहाँका आकर्षक गन्तव्यबारे सहज जानकारी उपलब्ध गराउने उद्देश्यले बोर्ड स्थापना गरिएको उनले बताए।

अध्यक्ष कार्कीले बोर्ड स्थापनाका लागि आवश्यक समन्वय र सहयोग प्रदान गरेकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरा कार्यालयकी निमित्त प्रमुख जसोदा सुवेदीसहित सम्पूर्ण टोलीप्रति धन्यवाद व्यक्त गरे।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पैरवी, रिले अनशन तथा विभिन्न आन्दोलनात्मक कार्यक्रमको नेतृत्व गर्दै आएको पोखरा उद्योग वाणिज्य संघले पर्यटकीय राजधानी पोखरा तथा समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले यो पहल गरेको संघकी महासचिव शोभा गौतमले बताइन्।

उनका अनुसार विमानस्थलमा राखिएको स्मार्ट डिस्प्ले बोर्डले प्रदेशका पर्यटकीय सम्भावना, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा भ्रमणयोग्य स्थलहरूको प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

एनवाईईएफ पोखरा च्याप्टरको नयाँ कार्यसमितिलाई बधाई

पोखरा उद्योग वाणिज्य संघले नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) पोखरा च्याप्टरको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। पोखरा उद्योग वाणिज्य संघ एनवाईईएफ पोखरा च्याप्टरको संरक्षक संस्था हो।

एनवाईईएफ पोखरा च्याप्टरको अध्यक्षमा इ. सरोज कायस्थ निर्वाचित भएका छन्। त्यसैगरी प्रेसिडेन्ट–इलेक्टमा विवेक श्रेष्ठ, प्रेसिडेन्ट नोमिनीमा हर्षल बिजुक्छे, कार्यक्रम संयोजक (प्रोग्राम चेयर) मा सुरज श्रेष्ठ तथा वित्त संयोजक (फाइनान्स चेयर) मा नुरज बाटाजु चयन भएका छन्।

नवगठित कार्यसमितिका सदस्यहरूमा मानस श्रेष्ठ, प्रतीकराज पहारी, सौरभ थापा, सिर्जन श्रेष्ठ, लक्ष्मणराज श्रेष्ठ र अस्मिता भारी निर्वाचित भएका छन्।

यसअघि मञ्चको नेतृत्व समेज राज भण्डारीले सम्हाल्दै आएका थिए। पोखरा उद्योग वाणिज्य संघले नवनिर्वाचित टोलीले युवा उद्यमशीलताको विकास, व्यवसायिक सञ्जाल विस्तार तथा उद्यमीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ। साथै, नयाँ नेतृत्वलाई सफल कार्यसम्पादनका लागि शुभकामना दिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected