
पोखरा, जेठ २६। पोखरा लेडी जेसीजले आफ्नो ३८ औँ वार्षिकोत्सवको अवसरमा विशेष “सांगीतिक साँझ” कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रमबाट संकलित रकम विभिन्न वर्गका प्रतिभाशाली महिला खेलाडीहरूको अक्षय कोष निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ।
कार्यक्रम असार ५ गते शुक्रबार पोखरा–५, पर्स्याङस्थित ताज महल पार्टी प्यालेसमा आयोजना हुनेछ। कार्यक्रममा चर्चित गायक–गायिका अस्मिता अधिकारी र महेश काफ्लेको विशेष प्रस्तुति रहने पोखरा लेडी जेसीजकी अध्यक्ष सुनीता गौतम भण्डारीले बताइन् ।
संस्थाको उद्देश्य सामाजिक उत्तरदायित्वसँगै महिला खेलाडीहरूको प्रोत्साहन र सशक्तीकरण रहेको अध्यक्ष भण्डारीले बताइन्। उनले भनिन्, “सफलता एक्लै होइन, सहकार्यमा हुन्छ। हाम्रो ३८ औँ वार्षिकोत्सवमा चर्चित कलाकार अस्मिता अधिकारी र महेश काफ्लेको आगमनसँगै, आउनुहोस्, असार ५ गते हाम्रो एकता र उत्सवलाई मिलेर भव्य बनाऔँ।”
कार्यक्रममा संगीतप्रेमी, समाजसेवी, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको भण्डारीले बताईन् ।




























