0Shares

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट नबिन त्रिपाठी प्रदेश समितिको अध्यक्षमा निर्वाचित भएका छन्। शुक्रबार राति करिब ११ बजे सुरु भएको मतदानको शनिबार बिहान सम्पन्न मतगणनामा त्रिपाठीले २ सय ३४ मत प्राप्त गर्दै पहिलो चरणमै अध्यक्षमा विजय हासिल गरेका हुन्।

अध्यक्ष पदका प्रत्याशीमध्ये निवर्तमान सभापति राजन गौतमले १ सय ८२ मत, माधवप्रसाद कँडेलले ११ मत र हरिबहादुर कार्कीले २ मत प्राप्त गरे। अध्यक्ष बन्न ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्ने विधानको व्यवस्था अनुसार त्रिपाठीले पहिलो चरणमै आवश्यक मत कटाएर विजय सुनिश्चित गरेका हुन्। अध्यक्ष पदका चार आकांक्षीबीच सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास दिनभर चले पनि सहमति हुन नसकेपछि निर्वाचन गरिएको थियो।

यस्तै गण्डकी प्रदेशको सदस्यका लागि ५१ जनाले उम्मेद्वारी दिएका थिए। जसमध्येबाट विभिन्न कलस्टरसहित ३३ जना निर्वाचित हुन्छन् । ५१ आकांक्षी मध्ये क्षेत्रगत प्रदेश सदस्यका लागि २८ जना उम्मेद्वार छन् । यी २८ जनाबाट गण्डकी प्रदेशको १८ वटा निर्वाचन क्षेत्रका १र१ जना निर्वाचित हुन्छन् । समावेशी प्रदेश सदस्यका लागि २३ जनको उम्मेद्वारी परेको थियो । समावेशीबाट १५ जना निर्वाचित भएका छन् ।

प्रदेश सदस्यका लागि ५१ आकांक्षी मध्ये १२ जना निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रगत प्रदेश सदस्यतर्फबाट बागलुङ १ का मीना शर्मा आचार्य, गोरखा १ बाट मनोज गुरुङ, गोरखा २ बाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की र तनहुँ १ बाट सूर्यमणि पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश समावेशी सदस्यमा खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी र राममाया बस्ताकोटी निर्विरोध निर्वाचित भइन् । मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा र अपांगता भएका खसआर्यबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित भएका छन् ।

पोखरामा सम्पन्न रास्वपाको प्रदेश अधिवेशन उद्घाटन सत्रमा महामन्त्री कविन्द्र बुर्लाकोटीले नेता–कार्यकर्तालाई संयमित, जिम्मेवार र अनुशासित बन्न आग्रह गर्दै व्यक्तिगत राजनीतिक स्वार्थभन्दा देश निर्माणमा केन्द्रित हुनुपर्ने बताए।

संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टी र सरकार सञ्चालनमा कुनै समस्या नरहेको तथा नेतृत्वबीच जिम्मेवारी बाँडफाँट गरेर काम भइरहेको बताए।

प्रदेश सभापति राजन गौतमका अनुसार गण्डकी प्रदेशका ९ जिल्लाका ६४ पालिका र ५५५ वडाको अधिवेशन सम्पन्न भइसकेको छ भने प्रदेश अधिवेशनमा ७३५ प्रतिनिधि सहभागी थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected