0Shares

पोखरा, ३० जेठ। सूचना प्रविधिको तीव्र विकाससँगै बढ्दो साइबर जोखिमबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ढिकुरपोखरी समाज, पोखराको आयोजना तथा गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित आधुनिक सूचना सञ्चार प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले सूचना तथा सञ्चार प्रविधिको व्यापक प्रयोगसँगै साइबर अपराधका घटनासमेत बढ्दै गएको उल्लेख गरे। उनले प्रविधिको सही र सुरक्षित प्रयोगबारे नागरिकलाई सचेत बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै डिजिटल युगमा सूचना प्रविधिको दुरुपयोगबाट जोगिन सबैले आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिए।

प्रशिक्षणमा सहजीकरण गर्दै प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकायाले आधुनिक समयमा अपराधको स्वरूप परिवर्तन हुँदै गएको बताए। उनले सामाजिक सञ्जाल, मोबाइल बैंकिङ, इमेल तथा अन्य डिजिटल माध्यम प्रयोग गर्दा व्यक्तिगत विवरणको सुरक्षा, बलियो पासवर्डको प्रयोग तथा अनलाइन ठगीबाट बच्ने उपायबारे जानकारी गराए। प्रविधिको प्रयोगसँगै साइबर सुरक्षाप्रति सचेत रहन सके मात्र सुरक्षित डिजिटल समाज निर्माण सम्भव हुने उनको भनाइ थियो।

ढिकुरपोखरी समाजका अध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका कास्कीका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, समाजका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, माछापुच्छ्रे क्याम्पसका अध्यक्ष शिव सुवेदी, जिल्ला शिक्षा निर्देशनालयका उपसचिव घनश्याम पौडेल तथा अन्नपूर्ण गाउँपालिका–२ का वडा अध्यक्ष पिताम्बर भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरूले सूचना प्रविधि आजको अपरिहार्य आवश्यकता भए पनि यसको सुरक्षित प्रयोग उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै डिजिटल साक्षरता अभिवृद्धिका लागि यस्ता प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। विशेषगरी युवा पुस्तालाई साइबर अपराध, अनलाइन ठगी, गलत सूचना तथा सामाजिक सञ्जालको दुरुपयोगबाट जोगाउन समुदायस्तरमै सचेतना अभियान सञ्चालन गर्न आवश्यक रहेको उनीहरूको भनाइ थियो।

कार्यक्रममा ढिकुरपोखरी समाजमा आबद्ध करिब एक सय सदस्यको सहभागिता रहेको थियो। प्रशिक्षणले सहभागीहरूलाई सूचना प्रविधिको सुरक्षित प्रयोग, साइबर सुरक्षाका आधारभूत सिद्धान्त तथा डिजिटल माध्यममा अपनाउनुपर्ने सावधानीबारे व्यावहारिक जानकारी प्रदान गरेको आयोजकले जनाएको छ।

समाजका सचिव गणेश अधिकारीले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष लक्ष्मी अधिकारीले यस्ता कार्यक्रमले समुदायमा डिजिटल सचेतना विस्तार गर्नुका साथै सुरक्षित र जिम्मेवार प्रविधि प्रयोगको संस्कार विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected