जेष्ठ नागरिकको ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरणका लागि अभिमुखीकरण सम्पन्न

अन्नपूर्ण, कास्की । एकीकृत सेवा कार्यालय, कास्कीको आयोजना तथा अन्नपूर्ण गाउँपालिका, कास्कीको समन्वयमा जेष्ठ नागरिकमा रहेको ज्ञान, सीप, क्षमता र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी चित्रागंत बराल, गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बराल, वडा अध्यक्षहरू, जेष्ठ नागरिक, महिला सञ्जाल, युवा क्लब तथा बाल क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता एकीकृत सेवा कार्यालय, कास्कीका प्रमुख राजेन्द्र क्षत्रीले गरेका थिए ।
प्रमुख अतिथि अध्यक्ष केसीले जेष्ठ नागरिक समाजका अमूल्य ज्ञान, संस्कार र अनुभवका जीवित पुस्तक भएको उल्लेख गर्दै ती अनुभवलाई नयाँ पुस्तासम्म पुर्याउनु आजको आवश्यकता भएको बताए । उनले स्थानीय सरकारले जेष्ठ नागरिकको सम्मान, संरक्षण र सक्रिय सहभागितालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
विशेष अतिथि प्रमुख जिल्ला अधिकारी गुरुङले पुस्तान्तरणले सामाजिक एकता, पारिवारिक सद्भाव र सांस्कृतिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले जेष्ठ नागरिकको अनुभवलाई विकास निर्माण र सामाजिक रूपान्तरणमा उपयोग गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रममा एकीकृत सेवा कार्यालय, कास्कीले अन्नपूर्ण गाउँपालिकालाई अपाङ्गता भएका नागरिकका लागि आवश्यक ह्वीलचेयर, वैशाखी, सेतो छडी लगायतका सहायक सामग्री हस्तान्तरण गरेको थियो।
गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार उक्त कार्यक्रमले जेष्ठ नागरिकको अनुभवलाई सम्मान गर्दै नयाँ पुस्तासँग जोड्ने प्रभावकारी माध्यमका रूपमा महत्वपूर्ण सन्देश दिएको छ।
कार्यक्रमलाई सहायक प्रजिअ चित्राङ्गत बराल, लोक दोहोरी गायक प्रजापति पराजुली लगायतले सहजीकरण गरेका थिए ।




























