0Shares

पोखरा, असार १७ — पोखराको पत्रकारिता, शिक्षा र राजनीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका अग्रज पत्रकार केशवराज पराजुलीको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको मंगलबार राति करिब १२ बजे पोखरा–३, नदीपुरस्थित आफ्नै निवासमा निधन भएको हो।

स्वर्गीय पराजुलीको बुधबार बिहान सेती नदी किनारस्थित तुलसीघाटमा अन्त्येष्टि गरिएको छ। उनका एक छोरा लोकरञ्जन ‘रमेश’ पराजुली र चार छोरी छन्।

पराजुली पोखराको आधुनिक पत्रकारिताका अग्रपंक्तिका व्यक्तित्वमध्ये एक थिए। उनी ‘जनमत दैनिक’ का संस्थापक सम्पादक हुन्। पत्रकारितामा सत्य, तथ्य र खोजमूलक लेखनलाई प्राथमिकता दिएका उनले लामो समय विभिन्न पत्रपत्रिकामार्फत समाजका विविध विषय उजागर गरेका थिए। उनका अनुसन्धानमूलक लेख तथा कृतिहरूले नेपाली पत्रकारितामा विशिष्ट स्थान बनाएका छन्।

पत्रकारितासँगै उनले शिक्षा क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्‍याए। लामो समय शिक्षण पेसामा आबद्ध रहँदै उनले हजारौँ विद्यार्थीलाई ज्ञान र प्रेरणा दिएका थिए। साथै, नेपाली कांग्रेसको राजनीतिमा सक्रिय सहभागिता जनाउँदै सामाजिक रूपान्तरणका अभियानमा समेत भूमिका निर्वाह गरेका थिए।

पोखराको समग्र विकास, सामाजिक चेतना र सार्वजनिक जीवनमा पुर्‍याएको योगदानको कदरस्वरूप उनी ‘पोखरेली नवरत्न’ सम्मानबाट सम्मानित भएका थिए। उनको व्यक्तित्व पत्रकार, शिक्षक, राजनीतिज्ञ र समाजसेवीका रूपमा समान रूपमा सम्मानित थियो।

उनको निधनसँगै पोखराको सञ्चार जगत्ले एक प्रेरणादायी अभिभावक गुमाएको अनुभूति गरेको छ। सञ्चारकर्मी, राजनीतिक नेतृत्व, शिक्षाविद् तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको उच्च सम्मान गरेका छन्।

सत्य, निष्पक्षता र समाजप्रतिको उत्तरदायित्वलाई जीवनभर आत्मसात् गरेका केशवराज पराजुलीले पत्रकारिता र सार्वजनिक जीवनमा स्थापना गरेका मूल्य र आदर्श भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनेर रहने विश्वास व्यक्त गरिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected