0Shares

अन्नपूर्ण, कास्की । अन्नपूर्ण गाउँपालिका–११, घान्द्रुकस्थित वनठाँटी क्षेत्रमा सोमबार राति करिब ९ बजे आएको भीषण पहिरोले दुई होटल, एक पक्की पुल तथा महत्वपूर्ण पदमार्गमा ठूलो क्षति पुर्‍याएको छ। मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन्।

स्थानीय व्यवसायी तथा मुल्डे भ्यू पार्क व्यवस्थापन समितिका अध्यक्ष राजमान गुरुङका अनुसार अविरल वर्षापछि माथिबाट आएको पहिरोसँगै बाढी, हिलो, माटो, काठका मुढा र दाउरा बगेर आउँदा होटल सनराइज, होटल शंकर तथा पदमार्गको पक्की पुलमा ठूलो क्षति पुगेको हो। होटल सनराइजका सञ्चालक राम गुरुङ र होटल शंकरका सञ्चालक गोकुल गुरुङ हुन्।

घटना हुँदा होटलमा पर्यटक तथा कर्मचारीहरू सुतिरहेको अवस्था भए पनि सबै सकुशल रहेकाले ठूलो मानवीय दुर्घटना टरेको उनले बताए ।

पहिरोले घान्द्रुक–दोबाटो हुँदै मुल्डे भ्यू पार्क, खोप्रा पदमार्ग, हिडन लेक पदमार्ग तथा पुनहिलबाट अन्नपूर्ण आधार शिविर जाने प्रमुख पदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। तीनभन्दा बढी स्थानमा पदमार्ग नै बगेकाले स्थानीय तथा पर्यटकको आवागमन ठप्प भएको छ।

राजमान गुरुङले अफ सिजनमा पनि पर्यटकको आवतजावत हुने यस महत्वपूर्ण पदमार्ग बन्द हुँदा स्थानीय पर्यटन व्यवसाय संकटमा परेको भन्दै सम्बन्धित निकायलाई तत्काल पहिरो पन्छाई पदमार्ग पुनः सञ्चालनमा ल्याउन आग्रह गरे।

टाडापानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रीतम सापकोटाले पहिरोले होटल, पुल र पदमार्गमा ठूलो भौतिक क्षति पुर्‍याएको उल्लेख गर्दै पर्यटक र स्थानीयको सहज आवागमन तथा पर्यटन व्यवसाय जोगाउन सरकारले तत्काल राहत, पुनर्निर्माण र पदमार्ग सञ्चालनका लागि आवश्यक पहल गर्नुपर्ने माग गरे।

स्थानीयवासीले ठूलो मानवीय क्षति नभएकोमा राहत महसुस गरे पनि वनठाँटी क्षेत्रको पर्यटन, स्थानीय अर्थतन्त्र र जनजीवन जोगाउन संघ, प्रदेश तथा स्थानीय सरकारले तत्काल स्थलगत अनुगमन, क्षतिको यथार्थ मूल्यांकन र पुनःस्थापनाको काम अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected