0Shares

काठमाडौं, २६ असार। लायन्स अन्तर्राष्ट्रियको अन्तर्राष्ट्रिय निर्देशकमा निर्वाचित नेपाली प्रतिनिधि राजन लम्साल शुक्रबार स्वदेश फर्किएका छन्। हङकङमा सम्पन्न १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अन्तर्राष्ट्रिय निर्देशकमा निर्वाचित भएका लम्साललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लायन्सका पदाधिकारी तथा सदस्यहरूले स्वागत गरेका हुन्।

विमानस्थलमा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसी, पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी, विभिन्न डिष्ट्रिक्टका गभर्नर, पूर्व डिष्ट्रिक्ट गभर्नर, प्रथम तथा द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर तथा लायन्सका सदस्यहरूको उपस्थिति रहेको थियो।

स्वदेश आगमनपछि काठमाडौंको बसुन्धरास्थित दियालो फूडल्याण्डमा आयोजित स्वागत कार्यक्रममा बोल्दै लम्सालले अन्तर्राष्ट्रिय निर्देशकको जिम्मेवारीलाई व्यक्तिगत उपलब्धिभन्दा पनि नेपालको प्रतिनिधित्व गर्ने अवसरका रूपमा लिएको बताए।

उनले विश्वव्यापी लायन्स सञ्जालमार्फत नेपालको पहिचान, सेवा संस्कार र सम्भावनालाई अन्तर्राष्ट्रिय समुदायसम्म थप प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

“नेपालले सेवा, नेतृत्व र सामाजिक उत्तरदायित्वका क्षेत्रमा गरेका असल अभ्यासलाई विश्वमञ्चमा प्रस्तुत गर्ने अवसर पाएको छु,” उनले भने, “मेरो प्राथमिकता नेपाललाई अझ प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय लायन्स समुदायसँग जोड्नु हुनेछ।”

लम्सालले आगामी दुई वर्षको कार्यकालमा युवा पुस्तालाई नेतृत्वमा अघि बढाउने, संस्थाभित्र प्रविधिमैत्री प्रणालीको विस्तार गर्ने र नेपालमा सफल भएका सेवामूलक कार्यक्रमलाई अन्तर्राष्ट्रिय बोर्डसम्म पुर्‍याउन पहल गर्ने बताए। उनले विश्वभर रहेका लायन्स सदस्यबीच सहकार्य विस्तार गर्दै नेपालमा दीर्घकालीन सामाजिक विकासका परियोजना भित्र्याउने लक्ष्यसमेत सुनाए।

उनका अनुसार पर्यटन प्रवर्द्धन पनि कार्यकालको प्राथमिकतामध्ये एक हुनेछ। लायन्स अन्तर्राष्ट्रियसँगको सहकार्यमा नेपाललाई अन्तर्राष्ट्रिय सम्मेलन, सेवामूलक अभियान तथा नेतृत्व विकासका कार्यक्रमहरूको गन्तव्यका रूपमा स्थापित गर्न पहल गरिने उनले बताए।

कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी, डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीले अन्तर्राष्ट्रिय लायन्स नेतृत्वमा नेपालको उपस्थिति थप मजबुत भएको बताएका थिए। उनीहरूले यस उपलब्धिले नेपाली लायन्स सदस्यहरूको विश्वव्यापी सहभागिता र नेतृत्व क्षमतालाई थप विस्तार गर्ने विश्वास व्यक्त गरे।

लायन्स अन्तर्राष्ट्रिय विश्वका २१० भन्दा बढी देश तथा भौगोलिक क्षेत्रमा फैलिएको सेवामूलक संस्था हो। करिब १४ लाख सदस्य रहेको यस संस्थाले स्वास्थ्य, शिक्षा, दृष्टि संरक्षण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, भोकमरी न्यूनीकरण र युवा सशक्तीकरणलगायत क्षेत्रमा सेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ।

अन्तर्राष्ट्रिय निर्देशक लायन्स अन्तर्राष्ट्रियको उच्च नेतृत्व तहको पद हो। यस पदमा रहने व्यक्तिले संस्थाको नीति निर्माण, विश्वव्यापी सेवामूलक कार्यक्रमको दिशा निर्धारण तथा संस्थागत निर्णय प्रक्रियामा प्रत्यक्ष भूमिका निर्वाह गर्ने व्यवस्था छ। लम्सालले आगामी दुई वर्ष विश्वभरका लायन्स सदस्यहरूको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय बोर्डमा नेपालको सहभागिता जनाउनेछन्।

नेपालमा लायन्सको स्थापना भएको करिब ५५ वर्षपछि अन्तर्राष्ट्रिय निर्देशक बन्ने लम्साल तेस्रो नेपाली हुन्। यसअघि सन् २०१५–२०१७ मा संजय खेतान तथा सन् २०२३–२०२५ मा बालकृष्ण बुर्लाकोटीले अन्तर्राष्ट्रिय निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्। लम्सालको निर्वाचनसँगै अन्तर्राष्ट्रिय नेतृत्व तहमा नेपालको निरन्तर उपस्थिति कायम भएको छ।

यसैबीच, हङकङ सम्मेलनले मार्क लियोनलाई लायन्स अन्तर्राष्ट्रियको अध्यक्षमा निर्वाचित गरेको छ। त्यस्तै डा. मनोज शाह प्रथम उपाध्यक्ष, टोनी बेनबो दोस्रो उपाध्यक्ष तथा सी. रोबर्ट रेट्बी तेस्रो उपाध्यक्षमा निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष लियोनले आफ्नो कार्यकालको मूल नारा ‘Rooted in Service’ (सेवामै हाम्रो जग) तय गर्दै समुदायकेन्द्रित सेवा, नेतृत्व विकास र मानवीय अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

लम्सालको निर्वाचनलाई नेपालका लागि अन्तर्राष्ट्रिय सेवामूलक कूटनीति र सामाजिक नेतृत्वका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। लायन्सकर्मीहरूले उनको कार्यकालमा नेपालमा अन्तर्राष्ट्रिय साझेदारी विस्तार, सेवा परियोजनाको वृद्धि तथा विश्व लायन्स मञ्चमा नेपालको भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरेका छन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected