
पोखरा, साउन १३ — पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा प्रज्ञा प्रतिष्ठानका नयाँ पदाधिकारी तथा सदस्यहरूको नियुक्ति गरेका छन्। महानगरले पोखरा प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ (दोस्रो संशोधन, २०८२) अनुसार कुलपति, उपकुलपति, सदस्य सचिव, प्रज्ञा परिषद् सदस्य तथा प्रज्ञा सभा सदस्य चयन गरेको हो।
प्रतिष्ठानको कुलपतिमा भाषा तथा साहित्य क्षेत्रकी सरस्वती लालचन ‘प्रतीक्षा’, उपकुलपतिमा कला तथा साहित्य क्षेत्रका तिलक पुर्जा पुन मगर तथा सदस्य सचिवमा लोकगीत तथा संगीत क्षेत्रका जीवन दाहाल नियुक्त भएका छन्।

प्रज्ञा परिषद् सदस्यमा नृत्यतर्फ श्रीजंग गुरुङ, फाइन आर्टतर्फ हरेराम जोजेजु, संगीत तथा वाद्यवादनतर्फ दिलीप गायक र रंगमञ्च तथा अभिनयतर्फ प्रमिला ताम्राकार तुलाचन चयन भएका छन्।
त्यसैगरी, प्रज्ञा सभा सदस्यमा साहित्यबाट कल्पना चिलवाल, संस्कृतिबाट कृष्णप्रसाद गौतम, नृत्य निर्देशन तथा कलाकारबाट गमबहादुर परियार, फाइन आर्टबाट ज्योति गुरुङ, लेखनाथ साहित्य प्रतिष्ठानबाट नवराज अधिकारी, लोकगीत तथा संगीतबाट प्रेमराज अधिकारी, संगीत तथा ब्यान्डबाट भास्करध्वज श्रेष्ठ, साहित्य तथा इतिहासबाट रवीन्द्र माकाजु, साहित्य तथा कलाबाट रीता पहारी तथा लोक तथा दोहोरी संगीतबाट शिवहरि ढुंगाना चयन भएका छन्।
नियुक्तिपछि मेयर धनराज आचार्यले प्रतिष्ठानले पोखराको साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। प्रतिष्ठानलाई प्रभावकारी बनाउन पोखरा घरमा व्यवस्थित कार्यालय, आवश्यक कानुनी व्यवस्था तथा पर्याप्त बजेटको प्रबन्ध गरिएको उनले जानकारी दिए।
उपमेयर मञ्जुदेवी गुरुङले प्रतिष्ठानको सक्रियताले नगरको भाषा, साहित्य र सिर्जनात्मक क्षेत्रको विकासमा टेवा पुग्ने बताउँदै महानगरले आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
नवनियुक्त कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’ले आफूलाई दिइएको जिम्मेवारी इमानदारी र निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउँदै पोखरा प्रज्ञा प्रतिष्ठानलाई नमुना संस्थाका रूपमा स्थापित गर्न सबैसँग सहकार्य गर्ने बताइन्।














