
मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
प्रतियोगितालाई ‘द फोर क्लाइमेट’को विशेष टाइटल दिइएको छ। विश्वकै अग्लो स्थानमा हुने गल्फ प्रतियोगितामार्फत हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे विश्व समुदायमा सन्देश फैलाउने उद्देश्य रहेको आयोजकको भनाइ छ।
प्रतियोगितामा यस वर्ष नेपालका उत्कृष्ट पाँच गल्फ खेलाडीलाई समेत विशेष प्राथमिकता दिइनेछ। पहिलो हुने खेलाडीले मास्टर ट्रफीसहित नगद ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो हुनेलाई ५० हजार तथा तेस्रो, चौथो र पाँचौँ स्थान हासिल गर्ने खेलाडीलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा एसियातर्फ १० जना महिला र ४० जना पुरुष गरी कुल ५० जना खेलाडी सहभागी हुनेछन्। सहभागी खेलाडीले मुस्ताङ गल्फ कोर्सलाई आधिकारिक रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराउने प्रक्रियामा समेत योगदान गर्ने आयोजकको विश्वास छ।
गिनिज रेकर्डका लागि आवश्यक प्रारम्भिक आधार तथा प्रमाणहरू तयार पारिसकिएको जनाउँदै आयोजकले गिनिज बुक अफ वर्ल्ड रेकर्डको टोलीसँग इमेलमार्फत नियमित संवाद भइरहेको जनाएको छ। नेपाल आउन सकारात्मक र तयार भए पनि समय र कार्यतालिका नमिलेका कारण हालसम्म टोली नेपाल आउन नसकेको आयोजकको भनाइ छ।
प्रतियोगिता ७१ होलमा स्टेबलफोर्ड ढाँचामा खेलाइनेछ। विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, क्लोजेस्ट टु द पिन, लङ्गेस्ट ड्राइभ तथा सिनियर विजेताका लागि विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ। विगतका संस्करणमा झैँ यस वर्ष पनि उत्कृष्ट खेलाडीलाई विशेष तथा मौलिक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताका लागि मुस्ताङबाट उत्पादन गरिएका ट्रफी तथा अन्य सामग्रीलाई प्राथमिकता दिइएको छ। प्रतियोगितालाई लोमन्थाङ गाउँपालिका, प्रभु बैंक, सिटी एक्सप्रेस मनी ट्रान्सफर, माछापुच्छ्रे बैंक, एक्साइडियम इनर्जी, सोनम गियर, बाह्रसिङ्गे बियर, कोरियन सोल फुड, सोलेटी पानी, माछापुच्छ्रे हाड एन्ड स्पा, गोरखा बिस्कुट र डिस्को कुसुम कन्स्ट्रक्सनलगायतले सहयोग गरेका छन्।
आयोजकका प्रबन्ध निर्देशक इन्द्र धारा बिष्टले प्रतियोगितामा सहभागी खेलाडी, पत्रकार तथा सञ्चार जगत् र सर्वसाधारणबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका छन्। उनले आगामी संस्करणमा पनि सबै पक्षबाट निरन्तर सहयोगको अपेक्षा रहेको बताएका छन्।













