गण्डकीमा सत्ताको समीकरण फेरिँदै : एमालेका चार मन्त्रीले सामूहिक राजीनामा दिने

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ । एमाले संसदीय बोर्डको बैठकले सरकारमा सहभागी आफ्ना चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
एमालेबाट गण्डकी सरकारमा चार जना मन्त्री सहभागी छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल, कृषि मन्त्री भीम कार्की र स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे सरकारबाट बाहिरिने भएका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत वैशाख २ गते मन्त्रिपरिषद् पुनर्गठन गर्दै एमालेका यी चार जनालाई सरकारमा सहभागी गराएका थिए । तर उनीहरुले आफूहरुले बनाएको बजेट पूर्ण रूपमा कार्यान्वयनमा लैजान नपाउँदै सरकारबाट बाहिरिनुपर्ने अवस्था आएको छ ।
एमाले सरकारबाट बाहिरिए पनि मुख्यमन्त्री पाण्डेलाई राप्रपा र नयाँ शक्ति पार्टीको समर्थन भने कायमै रहने देखिएको छ । राप्रपा तत्काल सरकारमा सहभागी नहुने बताइरहेको अवस्थामा नयाँ शक्तिका फणीन्द्र देवकोटा मन्त्री बन्ने सम्भावना बलियो बनेको छ ।
एमाले छाडेर कांग्रेसलाई समर्थन गरेका देवकोटा यसअघि दुई पटक मन्त्री भइसकेका छन् । गत वर्ष भदौ २३ गतेको जेन्जी आन्दोलनपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
अब गण्डकी प्रदेश सरकारमा कांग्रेसबाट कसलाई मन्त्री बनाउने भन्ने विषयमा समेत पार्टीभित्र रस्साकस्सी सुरु हुने देखिएको छ । एमालेको बहिर्गमनसँगै गण्डकीमा पुनः सत्ता समीकरण फेरिँदा मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र हुने भएको छ ।













